कास्की, २१ भदौ । पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष २०७२ कोे गोर्खा भूकम्पबाट क्षति पुगेपछि साग खेलकूदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो ।
समयमै निर्माण कार्य नसकिएर कतै फुटबल खेल यहाँ नहुने हो की भन्ने आशङ्का राखेका खेलप्रेमी पछिल्लो समयको निर्माण कार्यको तीव्रताले आशावादी बनेका छन् । खेलकूद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकूद समितिले समेत निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएपछि काम दु्रत गतिमा अघि बढेको हो । गत आवको असार मसान्तसम्ममा निर्माण सकिसक्ने गरी गत फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । डिजाइनले पूर्णता नपाउँदा यसअघि कृत्रिम मैदानका लागि बिछ्याइको गिट्टीसमेत प्राकृतिक मैदान बनाउने भएपछि झिक्नुपरेको थियो । स्टेडियम परियोजना म्यानेजर हरिबाबु न्यौपानेले अहिले मैदान, एथलेटिक ट्रयाक र प्यारापिट फाउन्डेशनमा गरी समग्रमा ४० प्रतिशत काम सकिएको बताए ।
फ्रान्समा निर्माण भइरहेको ‘ग्रान्ड स्ट्यान्ड’को काम अन्तिम चरणमा रहेकाले आफूहरु आगामी कात्तिक १५ भित्रमा कम्तीमा १० हजार कुर्सीसहितको प्यारापिट तयार गर्न प्रतिबद्ध रहेको बताए । “मैदान, एथलेटिक ट्रयाक र प्यारापिट मुख्य काम हो । मैदानको काम लगभग पूरा भएको छ । अव घाँस रोप्ने र एथलेटिक ट्रयाकको काम सँगसँगै हुन्छ । ४० प्रतिशत काम सकियो भने पनि ग्रान्ड स्ट्यान्डको काम समेत भईरहेकाले निर्धारित समयमै काम सकिन्छ”, उनले भने ।
फ्रान्सबाट ग्रान्ड स्ट्यान्ड पानी जहाजमार्फत कोलकाता बन्दरगाहमा आउने र त्यहाँबाट पोखरा ल्याएर दुईदेखि तीन साताभित्रमा जडानको काम सकिने कम्पनीले जनाएको छ । समग्रमा हालसम्म मैदानको ७०, एथलेटिक ट्रयाक ६०, प्यारापिट फाउन्डेशनको ३० प्रतिशत काम सकिएको इञ्जिनीयर पुरुषोत्तम बरालले बताए । उनका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मनै काम भइरहेको छ ।
रङ्गशाला निर्माणको लागि गत वर्षको पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भएको थियो । सम्झौतामा साधारण, भिआइपी, भिभिआइपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट बन्ने उल्लेख भएपनि पछि दुई हजार क्षमता थप गर्ने तयारी गरिएकाले लागत एक अर्ब ३० करोडसम्म अनुमान गरिएको थियो ।
नुहाउने कोठा, ‘चेञ्जिङ रुम’ निर्माण शुरु भइसकेको तथा मैदानमा दुबो रोप्नका लागिसमेत तयारी अवस्थामा छ । भारतबाट असोज पहिलो साता आइपुग्ने दुबो दशैँअघिनै रोपिसकिने बरालले जानकारी दिए । जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङ रङ्गशाला निर्माणलाई खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य राजेश गुरुङलगायतले दैनिक चासो दिएपछि कामले गति लिएको बताए ।
समयमै सम्पन्न गर्न सबै पक्षको प्रयास रहेकाले साग अघिनै स्टेडियम तयार भएर महिला फुटबल यही मैदानमा सञ्चालन हुनेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको उनी बताउछन् ।