शिक्षक नेतामाथि सामाजिक सञ्जालमा गालीः २४ घण्टे अल्टिमेटम दिएर विदेश सयर गर्न लाज लाग्दैन ?


काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई शिक्षकको माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दियो । पछि २२ घण्टामै वार्तामा बोलाएको भन्दै शिक्षा मन्त्रालयसँग वार्ता भयो र सहमति भयो विगतका सहमति कार्यान्वयन गर्ने ।

त्यसको केही दिनपछि शिक्षक महासंघका अध्यक्ष, महासचिव लगायतको टोली शिक्षा मन्त्रालयको कोटामा चाइना टुरमा निस्कियो । यो घटनाको सामाजिक सञ्जालमा विरोध शुरु भएको छ । मंगलवार वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीले आफ्नो फेसबुक पेजमा यस्तो लेखे ।

लाज कसलाई लाग्नुपर्ने हो ?

२४ घण्टे अल्टिमेटम दिएकालाई विदेश सयरको ललिपपमा आकर्षित गर्ने वा हुनेलाई ? शिक्षा दिवसमा फेरी शिक्षा पदक ब्युताइ बाड्नेलाई वा हात थाप्नेलाई ? आन्दोलनको यो पो त काइदा !

यो पोष्टमा मंगलवार साझँ साढे सात बजेसम्ममा १०५ लाइक, १५ कमेन्ट र २ सेयर मिलेको छ । सो पोष्टमा कमेन्ट गर्दै अनिल कर्णले लेखेका छन्– ‘अस्थायी शिक्षक उपर गरेको जालझेल वापतको पुरस्कार हो यो । लाज हामी जस्तो सहनेलाई लाग्नुपर्छ ।’

यस्तै कोमल खड्काले सोही पोष्टमा कमेन्ट गर्दै लेखेका छन्– ‘२४ घण्टाभित्र विदेश सयर गर्न पाउँ भन्ने ज्ञापनपत्र बुझाएका रहेछन् क्यारे । नत्र विदेश सयरको मौका कालताली त पक्का होइन ।’

यस्तै हृदयराज रेग्मीले लेखेका छन्  – ‘व्यवस्था बदलियो, अवस्था बदलिएन ।’ यस्तै, पोखरेल सुनिलले लेखेका छन् – ‘नालायक भयो महासंघ, व्यक्तिगत स्वार्थ भन्दा अरु केही उपलब्धि छैन ।’

Loading...