काठमाडौँ, १६ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।
आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । उनको अनुसार हालसम्म कूल ५२।५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ ।
यसै सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी गरिएको छ । आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।
प्रवक्ता न्यौपानेका अनुसार माथिल्लो ठाडो सुरुङमा पाइप जडानका लागि भारतीय ठेकेदार कम्पनीले थप २० कामदार कोलकाताबाट ल्याएको छ । कामदार थपिएपछि ठाडो सुरुङ निर्माण प्रक्रियाले थप गति लिने विश्वास लिइएको छ । आयोजनाको अवस्थालाई हेरेर सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजसो नै आयोजनास्थल पुगी समस्या समाधानमा सहजीकरण गरिरहनु भएको छ ।
गत साउन ६ गते माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि कार्यकारी निर्देशक घिसिङले भारतको कोलकातास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जीसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए ।
“टेक्स्याकोले कुनै पनि समयतालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन”, उनले भनेका थिए, “व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस् ।”
‘गोरखा भूकम्प’ त्यसपछिका परकम्प एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।