काठमाडौं, १५ भदौ । प्रहरीले भारतका विभिन्न सहरमा एटीएमबाट सर्वसाधारणको पैसा लुटने ह्याकरहरु नेपालमा पुगेको जनाएको छ ।
केही महिना अगाडि मात्र भारतका विभिन्न शहरका एटीएमबाट ह्याकहरुले ८० करोड रुपैयाँ लुटेका थिए । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकालेर लग्ने गरेको पत्ता लागेको थियो ।
भारतमा भने त्यस्ता ह्याकिङमा संलग्न कोही पनि व्यक्ति पक्राउ परेनन् । भारतको प्रहरी र केन्द्रीय जाँच ब्यूरो (सिबीआई)ले गरेको अनुसन्धानबाट उक्त ह्याकिङमा चिनियाँ ह्याकरहरु रहेको खुलेको जनाएको थियो ।
भारतबाट भाग्न सफल भएका तिनै ह्याकरहरु अहिले नेपालमा सक्रिय रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘भारतमा पनि यस्तै तरिका अपनाएर एटिएमबाट पैसा लुटिएका कारण नेपालमा पनि त्यहि समूह छिरेको हो कि भन्ने आशंका छ । यद्यपि यस विषयमा हामी अहिले अनुसन्धानकै चरणमा छौं ।’
एसएसपी सुवेदीका अनुसार पक्राउ परेका ह्याकरहरु यसअघि पनि अन्य ठाउँमा बैंकिङ लुटपाटमा संलग्न भएको देखिन्छ । तर, उनीहरुले कुन–कुन ठाउँमा कति रकम लुटे भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
शनिबार मध्याह्न १ बजेतिर प्रभु बैंकको बैंकिङ सिस्टम एक्कासी ‘डाउन’ भएको थियो । खासगरी एटिएम सिस्टमबारे ‘अपडेट’ प्राप्त हुन छाडेपछि बैंकको आइटी सेलका कर्मचारीहरु सक्रिय भएका थिए । तर, सिस्टम डाउन भएकै बीचमा एटिएम सिस्टमबाट १ मिनेटमा १० लाख रुपैयाँभन्दा बढीको ‘ट्रान्जिक्सन’ कारोबार भएको देखियो ।
न्यून मात्रै कारोबार हुने शनिबारका दिन एटिएमबाट १ मिनेटमै १० लाख रुपैयाँभन्दा बढी निकालिनु ‘शंकास्पद’ कारोबार थियो । त्यसपछि बैंकको अपरेशन शाखाका कर्मचारीले प्रहरीमा खबर गरे । प्रारम्भिक रुपमा प्रभु बैंकको एटिएम कारोबारबारे जानकारी लिन शुरु गरेको प्रहरी समक्ष अन्य बैंकको एटिएम सिस्टम पनि ह्याक भएको सूचना प्राप्त भयो ।
शनिबार साँझ आएर ५ जना चिनियाँ ह्याकरलाई पक्राउ गर्न सफल भएको एसएसपी सुवेदीले बताए । ‘उनीहरु पक्राउ नपरेको भए एटीएमबाट ठूलो मात्रामा पैसा लुटेर लैजाने रहेछन्,’ एसएसपी सुवेदीले भने । पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको छ ।
एसएसपी सुवेदीका अनुसार ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका छन् । ‘एटिएम सिस्टम सञ्चालन गर्ने सफ्टवेयर नै ह्याक गरिएको रहेछ,’ सुवेदीले भने, ‘प्रभुसँग अन्य वाणिज्य बैंकको पनि सिस्टम ह्याक भएको रहेछ ।’
‘एउटा सफ्टवेयर कम्पनीले बनाएको सिस्टम यहाँका प्राय सबै वाणिज्य बैंकले प्रयोग गर्छन् । अहिले त्यो सिस्टम नै ह्याक गरिएको देखियो,’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो, ‘प्रभु र एनआईसी एसिया बैंकमा ह्याकिङ भएको पहिचान भएको छ । अन्य बैंकको सिस्टममा पनि समस्या देखिएको सूचना आएको छ ।’
भारतमा ८० करोड लुटेका चिनियाँ ह्याकर नेपालमा रु