घोराही, १४ भदौ । भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका– १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमी छिन् । उनले घोराहीमा स्थानीय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोशाक बनाउने उद्योग सञ्चालन गरेकी छिन्।
उमेर उकालो लाग्दैछ तर उनको मेहेनती तनमन कहिले ओरालो झरेको देखिदैन । उनी घोराहीमा अल्लोबाट उत्पादन हुने तयारी पोशाकको उद्योग सञ्चालिका मात्र होइन स्वयम् कामदार पनि हुन् । करीब १० लाख बराबरको लगानीबाट शुरु गरिएको ‘प्रेम निःश अल्लो धागो तथा तयारी पोशाक उद्योग’ सञ्चालन गरेकै १० वर्ष भइसक्यो । उद्योगले दैनिक ४०÷५० जना महिलालाई नियमित कामदारको रुपमा राखेको छ ।
“उद्योगमा महिलालाई मात्रै काम दिएको छु”, उनले भनिन्,“मेहनती हुन्छन, राम्रो काम गर्छन्, महिलासँग काम गर्न सजिलो लाग्छ,” मेहेनत गरी आफ्नो जिम्मेवारी पूरा गर्ने हँुदा महिलालाई मात्र उद्योगमा कामदार राखेको प्रेमकुमारीले बताइन् । उनको भनाइअनुसार अल्लो नामको रुखको लोक्ता (बोक्रा)बाट तयारी पोशाक बनाउन कम्ताको समय लाग्दैन । सारै मेहेनतको खाँचो पर्ने उनको भनाइ छ । उनले भनिन्,“कडा मेहेनतले आम्दानी पनि राम्रै दिन्छ,” प्रेमकुमारीले उद्योगसँगै घोराही नयाँ बजारमा अल्लोबाट बनेको धागो र तयारी पोशाकको दुईवटा पसलसमेत सञ्चालन गरिन् ।
उद्योग र पसल दुवै आफै हेर्ने र सबैतिर आफै काम गर्र्दा, एकछिन फुर्सद नहुने गरेको उनी सुनाउछिन् । उनको उद्योगबाट अहिले अल्लोका विभिन्न तयारी पोशाक कोट, स्टकोट, विभिन्न प्रकारका टोपी, पछ््यौरा, जातीय पोशाक भाङ्ग्रा, छड्के, गलबन्दी, सल उत्पादन हुन्छन् । विभिन्न आकारका झोला, स्कुल झोला, ल्यापटप ब्याग, क्यामरा ब्याग, साइडब्याग, मिनिरल वाटर ब्याग, महिलाको झोला, जुत्ताचप्पल आदि पनि बन्छ । “ उत्पादन हुनासाथ तुरुन्त्रै बिक्री भइहाल्छ”, उनको अनुभवमा पछिल्लो समय मानिस स्वदेशी सामान खोजी गर्न थालेका छन् । उद्योगबाट उत्पादन भएका सामग्रीको दुई सय देखि ६–७ हजारसम्म पर्छन् ।
सभा सम्मेलन र कार्यक्रममा उपहार दिनका लागि अल्लोका सामग्रीको धेरै माग हुने गरेको छ । सङ्घ संस्था, समूहहरुले झोला, टोपी आदि उपहार दिन पहिलेनै माग गर्ने गर्दछन् । यस्तो बेला राम्रो कमाइ हुने गरेको प्रेमकुमारीले सुनाइन् ।
त्यस्तै जिल्लाभित्र र बाहिर हुने विभिन्न महोत्सवमा पनि अल्लोबाट बनेका सामग्रीको बढी माग हुने गरेको छ । दाङसगै, पोखरा, बुटवल, काठमाडाँै, नेपालगञ्जलगायतका देशका ठुला शहरमा सञ्चालन भएको मेला÷महोत्सवमा उनको उद्योगबाट उत्पादन भएको तयारी पोशाक पुगिसकेका छन् ।
यस्तै पछिल्लो समय चीन, भारत र अमेरिका पनि उनले उत्पादन गरेको अल्लोको सामग्री पठाइरहेकी छिन् । राप्तीका पहाडी जिल्ला रुकुम, रोल्पामा अल्लोका रुख हुन्छन् । त्यहाँ उत्पादन हुने अल्लोका लोत्ता स्थानीय क्षेत्रमै खपत हुने हुँदा दाङमा डोटी, दार्जुला, बझाङ, डढेल्धुरा, सुर्खेत, दैलेखबाट कच्चापदार्थ भित्र्याउने गरेको प्रेमकुमारीले जानकारी दिइन्।
तयार नभएको अल्लोको लोक्ताको मूल्य मात्रै प्रतिक्वीन्टल, १५ देखि २० हजारपर्छ । “वर्षमा सय क्वीन्टल बढी लोक्ता, मेरो उद्योगमा आउछ, यहाँ ल्याएर लोक्तालाई नरम बनाउन काष्टिक सोडाको प्रयोग गरी धुलाइ र कटाइ गर्दा धेरै समय लाग्ने गर्छ”, प्रेमकुमारीले बताईन् ।
अल्लो पकाउने, चर्खाबाट धागो कात्ने, तयारी पोशाक बनाउने लगायतका काम गर्न उनले उद्योगमा सबै महिला कामदार राखेकी छिन् । स्थानीय उत्पादनलाई प्रथामिकता दिएको र राम्रो उद्योग सञ्चालन गरेर राम्रो कला प्रस्तुत गरेको भन्दै उनलाई उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लगायतबाट सम्मान गरिएको छ ।