पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो ।
प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२ गतेको बैठकबाट नियमावली पारित गरिएको हो ।
यसअघि २०८२ वैशाख ३० गतेको बैठकबाट पहिलो पटक नियमावली पारित भएको थियो । तर, संघ सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण उक्त नियमावली कार्यान्वयनमा रोक लागेको थियो ।
अहिले दोस्रो पटक नियमावली पारित गरिएको हो । सोही नियमावली अन्तर्गत मन्त्रालयले भाडादर तोक्ने उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडादर निर्धारण गरेको हो ।
निर्धारित भाडादर अनुसार, चार पांग्रे र दुई पांग्रेमा फरक फरक शुल्क समेटिएको छ । त्यसमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । दुवै सवारी साधनले यात्रुलाई सहुलियत दिनुपर्ने व्यवस्था नियमावलीमै गरिएको छ ।
चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ । आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ ।
यो भाडा १५६.५ रुपैयाँ हुन्छ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।
दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ । यसका लागि ४६.८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार, तोकिएको भाडा बाहेक अन्य कुनै थप शुल्क लिन पाइने छैन ।







