घोडाघोडी, १४ भदौ । कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ ।
देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ ।
स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गरेको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन् । सञ्चालक विष्ट भन्छन्, “मानसिक सन्तुलन गुमेका व्यक्ति राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन् ”। ‘शुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन् । ’सडक जीवन बिताउँदै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिको स्याहार गर्ने सोच आफूमा पलाएको विष्टले बताए ।
करीब एक वर्ष अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो ३५ वर्षीय महेश कुँवरलाई । बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिदै लम्की पुगेका थिए । सहारा घरका सञ्चालक बलबहादुर विष्टले सडकमा भौतारिने गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिए । समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए । उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसको सहारा बनेका छन् । सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने केशव बताउछन् ।
उनी भन्छन्, “म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ सहारा घरको माया स्नेहलेबिना उपचार म निको भएँ ।” सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याउनुभयो उनले थपे, “बिना औषधि सहारा घरको माया ममताले म निको भएँ, हाम्रो लागि बलबहादुर दाइ भगवाननै हुनुहुन्छ ।” अब म पनि यही बसेर दाइ जस्तै अरूको सेवा गर्छु । अहिले केशव पनि मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्छन् ।
त्यस्तै सहारा घरमा बस्ने लम्की चुहा नगरपालिका –१ थकालीपुरकी सुनिता (शान्ति) को पीडा पनि कहाली लाग्दो छ । उनी पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले सहारा घरमा पुर्याए । दुई छोरा र दुई छोरी रहेका उनीपनि करिब १२ वर्ष अघिदेखि मानसिक रोगीको सिकार भएकी थिइन् । अहिले उनलाई निको भएको छ । अहिले उनी त्यही सहारा घरमा अरूको सेवा गर्दै आइरहेकी छिन् । घर नजिकै भएपनि आफूलाई घर जान पटक्कै मन नलाग्ने बताउछिन् शान्ति । घर नजिकै भएर आफूहरूले पटक पटक घर पठाउँदा पनि पुनः फर्किएर सहारा घरमा आइहाल्नुहुन्छ सञ्चालक विष्टले भने ।
सहारा घरले कुश नाम राखिदिएका एक जना हिन्दी भाषी युवा समेत आफ्नो बारेमा बताउन सक्दैनन् उनी ‘बुबा काममा जानुभएको छ’ मात्रै भन्छन् ।
यी त केही उदाहरणका पात्र मात्र हुन । सहारा घरमा उपचार बिना नै कयौँ मानसिक सन्तुलन गुमाएर बसेका मानिसहरू निको भएर कोही यही बसेर सेवा गरिरहेका छन् भने ४७ जना निको भएर परिवार मिलन भइसकेका छन् ।
असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देशबिदेशबाट सहयोग जुटाउने गरिरहेका छन् । ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत सहायता माग्छु ।’संस्थाको नाममा बैङ्कमा खाता खोलेको छु उनले भने ।
सहारा घरमा ,स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्र्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सञ्चालक विष्टले बताए । उनले भने ,‘विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनि कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने व्यक्तिहरूलाई गाँस बासमा समस्या हुने गरेको छ ।’ विष्टले खर्च नहुँदा आफूसँग भएको खेतवारी बिक्री गरेर खर्च चलाइरहेको समेत बताए ।