काठमाडौँ, १३ भदौ । युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे कान्छा) लाई प्रदान गरिएको छ ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो ।
विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापना गरिएको उक्त पुरस्कार इतिहासविद्, संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई प्रदान गरे ।
कार्यक्रममा शताब्दीपुरुष जोशीले नेपाली भाषा, साहित्यको विकास र विस्तारमा युवा साहित्यकारहरु लाग्नुपर्ने बताए । “युवा साहित्यकारहरुले नै नेपालको भाषा र साहित्यलाई जोगाउन सक्छन्”, उनले भने ।
राष्ट्रिय युवा सेवा कोषले युवा साहित्यकारलाई अगाडि बढाउन गरेको काम सराहनीय रहेको उनको भनाइ थियो ।
कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धिमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेकाले उनको नाममा पुरस्कार स्थापना गरिएको बताए ।
कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिए । कोषले हालसम्म युवावर्ष मोती पुरस्कारबाट ६० भन्दा बढी युवा साहित्यकारलाई सम्मान गरिसकेको छ ।
सोही अवसरमा यसैवर्ष दिवङ्गत हुनुभएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।
यसवर्ष दिवङ्गत हुने साहित्यकारहरुमा हेमराज ज्ञवाली, सुशीला शाह (राणा), मोहनराज शर्मा, मदनमणि दीक्षित, शिव रेग्मी, विष्णुप्रसाद पौडेल, बसन्तकुमार शर्मा, प्रा डा टीकाराम अधिकारी, रीता शाह, लक्ष्मीदेवी सुन्दास, दुर्गा दाहाल, अच्युत मल्ल, हरिबहादुर ढुङ्गानालगायत छन् ।