सामूहिक गौहत्या गर्नेलाई कारवाही गर्न माग, एक पक्राउ

काठमाडौँ, १३ भदौ । सामूहिक गौहत्याको छानबिन गर्न माग गरिएको छ । गएराति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई सुर्खेत वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए । साथै १५० वटा गाई घाइते अवस्थामा रहेका छन् । ती गाईको हत्या गर्नेमाथि चौतर्फी कारवाहीको माग भएको हो ।

यसैक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले एक विज्ञप्ति जारी गर्दै यो काम कानून विपरीत भएकोले कारवाहीको माग गरेका छन । उनले राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु ।’

गाई मारेको आरोपमा पक्राउ

यसैबीच गाई मारेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थान भक्तपुरबाट २५ वर्षीय चिरन पुरी पक्राउ परेका हुन् । उनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले पुष्टि गरे ।

भक्तपुरको खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Loading...