अब भक्तपुरबाट पनि आश्रमको सेवा

काठमाडौँ, १३ भदौ । सडक, प्रतिक्षालय तथा मठमन्दिरमा बस्दै आएका बेवारिसे, असक्त, असहाय तथा मनोरोगीहरुको उद्धार, पालनपोषण, औषधोपचार गरी परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले झक्तपुर जिल्लाबाट पनि सेवा शुरु गर्न लागेको छ ।

आगामी असोज १ गतेबाट भक्तपुरमा आश्रम स्थापना गरी सेवा शुरु गर्न आवश्यक प्रक्रिया शुरु गरिएको आश्रममका ३ नं प्रदेश संयोजक सुमन वर्तौलाले जानकारी दिए । यसअघि काठमाडौँलगायत विभिन्न १३ जिल्लाको १५ स्थानमा आश्रम स्थापना गरेर सेवा दिँदै आएको आश्रमले भक्तपुरमा समेत शाखा विस्तार गर्न लागेको हो ।

“आज भएको छलफलमा भक्तपुरका स्थानीय सरोज बस्नेतले न्यून मूल्यमा घर भाडा दिने प्रतिबद्धता जनाउनुभएको छ, त्यही घरबाट सेवा थाल्ने गरी तयारी शुरु भएको छ, असोज १ बाट औपचारिक रुपमा सेवा शुरु हुन्छ”, वर्तौलाले भने । बस्नेत काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्षसमेत छन् । उनले आश्रमको सेवालाई सहज बनाउन व्यक्तिगत रुपमा मासिक १५ हजार रकम सहयोग गर्दै आएका छन् ।

आफूले पनि वृद्धवृद्धा राखेर सेवा दिने योजना अघि सारेको बताउँदै बस्नेतले त्यस्तै प्रकृतिको काम आश्रमले गरिरहेकाले थोरै मूल्यमा आश्रमलाई घर उपलब्ध गराउन पाएको भन्दै खुशी व्यक्त गरे । यसअघि उपत्यकाको काठमाडौँस्थित सामाखुसी र बुढानीलकण्ठ तथा ललितपुरमा आश्रमले सेवा दिँदै आए पनि झक्तपुरमा आश्रम थिएन । अब आश्रम स्थापनासँगै भक्तपुरका सडकपेटीमा बेवारिसे भएर बसेका मनोरोगी, असक्त, असहायहरुको उद्धार गरी संरक्षण गर्न सहज हुनेछ ।

विसं २०८२ सम्ममा नेपालका सडकमा यस्ता असहाय मानिसहरु रहने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम रहेको छ । अहिलेसम्म आश्रममले झण्डै दुई हजार व्यक्तिलाई उद्धार गरिसकेको छ भने छ सय बढीलाई परिवारमा पुनःमिलन गराइसकेको अध्यक्ष रामजी अधिकारीले बताए ।

आश्रम २०६९ सालमा हेटौँडामा स्थापना भएको थियो ।

शुरुमा मुठीदानबाट शुरु भएको अभियान अहिले विभिन्न स्वदेश र विदेशमा भएका नेपालीहरुको सहयोगमा सञ्चालित छ । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत सहयोग गर्न थालेकाले सञ्चालनमा राहत मिल्दै आएको आश्रमले जनाएको छ ।

Loading...