महिला सशक्तीकरणमा विश्वमै अनुकरणीय नेपाल ः जापानी सांसद

काठमाडौँ, १३ भदौ । नेपाल भ्रमणमा रहेका जापानको महिला संसदीय प्रतिनिधिमण्डलले महिला सशक्तीकरणका निम्ति नेपाल विश्वमै अनुकरणीय देश भएको बताएको छ ।

जापानी संसद्की प्रभावशाली सदस्य इनादा तोमोमी नेतृत्वको महिला सांसदको टोलीले मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग भएका भेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेपाली नारीले विविध चुनौती झेल्नु परेको भए पनि राजनीतिक सशक्तीकरणको प्रशंसा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग आज बेग्लाबेग्लै भएका भेटमा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सक्दो सहयोगको प्रतिबद्धता व्यक्त ग¥यो ।

बाह्र वर्षपछि नेपाल र जापानबीच यसै साता पुनः प्रारम्भ भएको सिधा हवाई सेवाको मुक्तकण्ठले प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले द्विदेशीय पर्यटन प्रवद्र्धनमा त्यसले टेवा पुग्ने विश्वास व्यक्त ग¥यो ।

मन्त्री ज्ञवालीले जापानी लगानीकर्तालाई नेपालमा पूँजी परिचालनका निम्ति प्रेरित गर्न आग्रह गर्दै कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा गरिने लगानीले पर्याप्त प्रतिफल दिने भएकाले अवसरको उपयोग गर्न आह्वान गरे ।

दिगो विकासका लक्ष्य हासिल गर्ने तथा नेपाललाई मध्यम आययुक्त देशका रुपमा विकास गर्ने वर्तमान सरकारको लक्ष्य सुनाउँदै उनले जापानजस्तो भरपर्दो विकासको साझेदारबाट थप सहयोगको अपेक्षा गरिएको बताए ।

जापानले कठिन अवस्थामा पनि नेपालललाई सहयोग गर्दै आएको तथा यहाँका भौतिक पूर्वाधार निर्माणका साथै सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर मद्दत गरेकामा आभार व्यक्त गरे ।

बुद्ध दर्शनका मूल्यमान्यतालाई नेपाल–जापान सम्बन्धका आधारका रुपमा चित्रित गर्दै मन्त्री ज्ञवालीले दुई देशबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई भिक्षु एकाइ कावागुचीले १२० वर्षअघि नै जनस्तरमा घनीभूत बनाएको बताए ।

जापानी प्रतिनिधिमण्डलले आजै पाटन दरबार क्षेत्रमा जारी भूकम्पपछिको पुनःनिर्माण तथा थापाथलीस्थित इन्द्रराज्यलक्ष्मी प्रसूतिगृहको अवलोकन गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।

Loading...