काठमाडौँ, १३ भदौ । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ ।
सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज हुनेछ । सीएफएसमा एकै पटक २५० कन्टेनर राख्न सकिनेछ ।
कोलकातामा बिहीबार आयोजित एक कार्यक्रममा नवनिर्मित सीएफएसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने वर्तमान सरकारको प्रमुख कार्यसूची भएको बताए । उनले समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पारवहन सञ्जालको अधिक महत्व रहेको दोहो¥याए ।
पारवहन संरचना र सञ्जाल विस्तार गर्न यातायातका थप माध्यमहरू विस्तार गर्ने सिलसिलामा जलमार्ग उपयोगको प्रयास भइरहेको जानकारी दिँदै उनले पारवहन तथा ढुवानी प्रणालीमा थप सुधार अपरिहार्य भएको बताए ।