दलित महिला सीपमूलक कार्यमा आकर्षित

बेझाड, १३ भदौ । दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् ।

सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै आएको छ । तालीममा सहभागी हुने अवसर पाएपछि आयमूलक व्यवसायमा महिला अगाडि बढेका छन् । रामपुरकी टीका सुनारले कपडामा कडाइ भर्ने तालीम लिएपछि धेरैलाई सीप सिकाइन् । आरक्षण कोटाको कारण तालीममा सहभागी हुने मौका पाएको उनी बताउछिन् ।

“दलित कोटाबाट तालीम लिन पाएपछि धेरै सीप सिक्न पाइयो, कपडा, चुरामा बुटिक भर्ने, सिलाइकटाइ, स्वीटर बुन्नेजस्ता तालीमले दलित महिलालाई आयआर्जनमूलक क्षेत्रमा अगाडि बढ्ने बाटो देखाएको छ”, उनले भनिन् ।

लक्ष्मी नेपालीले तीन महीने कृषि तालीम लिएपछि अहिले तरकारी लगाउन थालेकीछिन् । तरकारी खेती गरेर उनले घर खर्च चलाउँदै आएकी छिन् । “तीन महीने कृषि तालीम लिएपछि आफैँले घर वरिपरि तरकारी लगाएर घर खर्च चलाएको छु, प्राविधिक ज्ञान भएपछि धेरै जग्गा पनि नचाहिने, चुरामा बुटिक भर्ने तालीम पनि पाएँ, फुर्सदको बेला घरमा बसेर चुरामा बुटिक भर्दै बजारमा बिक्री गर्ने सोच छ”, नेपालीले भनिन् ।

यसरी तालीम पाएपछि उनीहरु आयमूलक व्यवसायमा अगाडि बढ्न थालेका छन् भने अर्कोतर्फ फुर्सदको समय पनि सदुपयोग भएको छ । दुई÷चार पैसाका निम्ति परनिर्भर रहँदै आएका यस क्षेत्रका महिला पछिल्लो समय आफँै व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । सिलाइकटाइ, चुरामा बुटिक भर्ने, तरकारी उत्पादन, गुडिया बनाउने, अचार बनाउने, स्वीटर बनाउने, पार्लर सञ्चालन गरेर आयस्रोत बढाउन सफल भएका छन् ।

उच्च शिक्षा पढ्दै गरेकी सङ्गीता परियार पनि सीपमूलक तालीम लिएर पढाइ खर्च जुटाउने सोच बनाएकी छिन् । पढाइसँगसँगै सीपमूलक तालीम लिएर आफँै व्यवसाय चलाएर आत्मनिर्भर बन्ने उनको भनाइ छ । घरपरिवारले अपहेलना गरेपछि फूलमती नेपाली (नाम परिवर्तन) अहिले विभिन्न सीपमूलक तालीममा सहभागी हुन थालेकी छिन् । श्रीमान् वैदेशिक रोजगारमा घरमा सासू–ससुरासँग बसोबास गर्दै आउनुभएकी फूलमतीले दुई÷चार पैसाका निम्ति कसैको साहारा नपाएपछि आफँै सीपमूलक तालीममा सहभागी हुन थालेकी हुन् ।

“न त श्रीमान् त न घरपरिवार कसैले हेर्दैनन्, चार वर्षकी छोरी छ, उनलाई शिक्षा दिनुपर्ने बेला भयो, पैसा माग्यो भने कसैले दिँदैनन्, विभिन्न सीपमूलक तालीममा घरबाट निस्कन थालेकी छु”, उनले भनिन् । हातमा सीप भएपछि व्यवसाय गरेर जीविका चलाउने उनले बताउछिन् । रामपुर नगरपालिकाले दलित महिलाका लागि लक्षित गरेर विभिन्न सीपमूलक तालीम दिएपछि धेरै महिलालाई व्यवसाय गर्न प्रेरणा मिलेको छ । नगरपालिकाले दलित महिलालाई सक्षम र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रममा जोड दिएको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । “दलित महिलाकै लागि भनेर नगर तथा वडाबाट विभिन्न तालीम तथा कार्यक्रममा बजेट विनियोजन गरेका छौँ र अन्य तालीममा पनि अनिवार्य रुपमा दलितलाई नै सहभागिता गराएर काम गरिरहेका छौँ”, नगर उपप्रमुख आचार्यले भनिन् ।

साहाराविहीन, परिवारको अपहेलना, एकल जीवन बिताएका महिलालाई सीपमूलक तालीमले जीवन जिउने बाटो सिर्जना गरेको छ । केही महिलाले सीपमूलक विभिन्न तालीम सिकेर ठूलै व्यवसाय चलाएका छन् भने केही स–साना ट्याङ्की पसल चलाएर आत्मनिर्भर बन्दै गएको पाइएको छ ।

Loading...