एसपी दानबहादुर मल्लका नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर गरियो बेइज्जत

चितवन, १२ भदौ । सिधा कुरा जनतासँग कार्यक्रमका चर्चित प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि नेपालका प्रहरीका एकजना एसपी पनि उत्तिकै चर्चामा आए । यसरी चर्चामा आउने एसपी हुन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल । चर्चासँगै उनलाई विवादमा तान्ने प्रयत्न धेरै भए ।

कुनै समय पूर्व प्रधानमन्त्री तथा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको अंगरक्षक भएर काम गरेका मल्ललाई अहिले पनि प्रचण्डकै मान्छेका रुपमा कतिपयले चित्रण गर्ने गर्दछन् । उनले गरेका राम्रा नराम्रा सबै काममा प्रचण्ड जोड्ने र प्रचण्डका कतिपय कामहरु पनि उनलाई जोडेर चर्चा गर्ने गरिन्छ । यही क्रममा चितवनमै शालिकराम पुडासैनीको मृत्यु भएपछि उक्त घटनामा नाम जोडिएर रवि लामिछाने पक्राउ परेपछि मल्लमाथि झनै प्रहार र आलोचनाहरु भए ।

यतिसम्म कि सामाजिक सञ्जालमा एसपी मल्लको फोटो टाँसेर अनेक गाली गलौज गर्नुका साथै उनकै नाममा नक्कली फेसबुक आइडी खोलेर उनको बदनाम गराउने काम पनि भए । यसैबीच उनकै नामको एक नक्कली फेसबुक आइडी खोलेर आपत्तीजनक स्टाटस लेखिएपछि अहिले फेरि चर्चामा आएको छ ।

मल्लको नाममा खोलिएको उक्त नक्कली फेसबुक आइडीबाट ‘पत्रकार शालीकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामीछानेलाई फसाउन मेयर रेणु दाहालले एसपी मल्लाई १४ करोड दिएको’ भन्दै स्टाटस लेखिएको छ । प्रहरीले अहिले उक्त अकाउन्टबारे अनुसन्धान भइरहेको जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त फेक आइडीका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चितवनका एसपी दानबहादुर मल्लले यस्तो कार्य गर्ने जोकोही भए पनि कानुनी दायरामा ल्याइने बताएका छन् । उनले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा नल्याउने हो भने यो प्रवृति मौलाएर जाने पनि बताए ।

Loading...