काठमाडौं, ९ भदौ । चितवनमा ठूलो संख्यामा रवि लामिछानेका समर्थकहरु जम्मा भएपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएका रवि लामिछानेमाथि आज अदालतमा बयान लिइदैछ । आज चितवनमा बिहानैदेखि लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । प्रहरीले पनि भरतपुर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरी ठूलो संख्यामाम सुरक्षा तैनाथी बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ। निषेधाज्ञा जारी गरिएपछि आज बिहानैदेखि प्रहरीले बजार क्षेत्रमा माइकिङ गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहायको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ ।’
यसैबीच पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये युवराज कँडेलको बयान लिने कार्य सुरु भएको छ । जिल्ला अदालत चितवनमा कँडेलको बयान सकिएपछि अर्का आरोपी रवि लामिछानेको बयान लिने कार्य सुरु हुनेछ । तीनजना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ ।
लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्ने बताइएको छ । तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।
रवि लामिछाने निर्दोष रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गर्नुपरेको जनाएको छ । निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।