काठमाडौंको न्यूरोडमा दिउसै एक सांसदमाथि लुटपाट, सीसीटीभीबाट पत्ता लागे लुटेरा

काठमाडौं, ८ भदौ । काठमाडौंको न्यूरोड महङ्गो व्यापारिक केन्द्र मानिन्छ । अत्यन्तै व्यस्त र मानिसहरुको अत्यन्तै धेरै चाप रहने न्यूरोडमै मान्छे दिउसै लुटपाट भएको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । त्यो पनि जनप्रतिनिधि नै लुटिएको कुरा अझै आश्चर्यजनक हो ।

तर, यस्तै भएको छ । न्यूरोडमा सांसद भावना सुवेदी लुटपाटमा परेकी हुन् । उनलाई लुटपाट गरेको आरोपमा प्रहरीले अनुसन्धान गरी एक व्यक्तिलाई पक्राउ पनि गर्न सफल भएको छ ।

महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले लुटपाटमा सम्लग्न रहेको आरोपमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई पक्राउ गरेको हो ।

सांसद सुवेदी लुटपाटमा परेको खबरपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले न्यूरोडका सीसी टीभी फुटेज हेरेर त्यसको विश्लेषण गर्दै सोही आधारमा थिङलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान सुरु भएको पनि प्रहरीले जनाएको छ ।

यही साउन २६ गते न्यूरोडमा सांसद सुवेदीमाथि लुटपाट भएको थियो । बाटोमा हिडिरहेका बेला उनको साथमा रहेको झोलाबाट एक अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटेर भागेका थिए ।

Loading...