यसरी गरिदैछ गाउँ गाउँमा निःशुल्क इन्टरनेट विस्तार

काठमाडौं, ८ भदौ । तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो ।

यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको हो ।

साइवर सुरक्षाका कारण इन्टरनेट प्रयोगका लागि मोबाइल नम्बर पठाएर अनुरोध गरेपछि एसएमएसमार्फत पासवर्ड प्राप्त हुने र पासवर्ड प्रयोग गरेर इन्टरनेटको सुविधा लिन सकिने कम्पनीका शाखा प्रबन्धक मनोज मल्लले जानकारी दिए ।

मादीसेती एफएमको टावरमा डिभाइस राखेर तीन वटा टोलमा निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको छ । एकैपटक १०० ले प्रतिव्यक्ति दुई एमबीपिएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाइको व्यवस्था गरिएको छ ।

वडामा डिजिटल बडापत्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा डिजिटल बडापत्र स्थापना गरिएको छ । वडाबाट प्रदान गरिने सेवासुविधालाई प्रभावकारी बनाउन बडापत्र राखिएको हो । वडाबाट प्रदान हुने सेवा, सिफारिश, शुल्कलगायतका विषय बडापत्रमा समेटिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । पुरानो नागरिक बडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो भएकाले डिजिटल बडापत्र स्थापना गरिएको उनले बताए ।

सेवाप्रवाहलाई छिटोछरितो बनाउन र सेवाग्राहीले सहजै बुझ्ने वातावरण सिर्जनाका लागि डिजिटल बडापत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले बताए ।

वडा कार्यालयले पहिलोपटक वडाको प्रोफाइलसमेत निर्माण गरेको छ । वडाका योजना व्यवस्थित बनाउन सहयोग पु¥याउने उद्देश्यले प्रोफाइल निर्माण गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

प्रोफाइलमा वडाको जनसङ्ख्या, रोजगार, बेरोजगार, उद्योगी, व्यवसायी, किसान, उत्पादन आदिको अभिलेखीकरण गरिएको छ । योजना बनाउने क्रममा वडा प्रोफाइललाई आधार मानेर अगाडि बढ्न सहयोग पुग्ने रेग्मीले बताए ।

Loading...