खोटाङ, ४ भदौ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेका हुन् ।
जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा आचार्यसहित सबैले सामूहिकरूपमा भोज खाएका थिए । मानिसमा ठूलो र सानो जात हुँदैन भन्ने ठहरका साथ सहभोजमा बनाइएका परिकार आचार्यलगायत सबैले खाए । यसले सामाजिक रूपमा एउटा सकरात्मक सन्देश दिएको थियो ।
सहभोजमा जिल्लाका सबैजसो राजनीतिक दलका नेता उपस्थित रहेका थिए । दलितकै घरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष चर्चबहादुर विश्वकर्माले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई दलितको छोरी बिहे गर्न अनुरोधसमेत गरेका थिए । प्रदेश नं १ लाई छुवाछूतमुक्त प्रदेश बनाउने प्रदेश सरकारको अभियानअन्तर्गत खाल्लेमा सहभोजको आयोजना गरिएको थियो । तर, यसको परिणाम वृद्ध अवस्थाका आचार्यलाई असार २७ गतेमात्र थाहा भयो ।
जुन दिन उनले आफ्नो संस्कारअनुसार पितृको श्राद्ध गर्नु थियो । असार २६ गते नै कपाल काटेर उनी एकछाकी बसेका थिए । असार २७ गते उनका पुरोहित वसन्त घिमिरे लफ्याङबाट आउनुपर्ने थियो तर, आएनन् । आचार्यले निकै समय पर्खिए तर पुरोहित नआएपछि उनलाई ठूलो समस्या भयो । उनले सहभोजमा आमन्त्रण गर्ने र जान प्रेरित गर्नेलाई फोन गरेर समस्या सुनाए ।
त्यसपछि कोही पनि पुरोहित उनको घरमा आएनन् । पुरोहित नपाएपछि नगरप्रमुखदेखि जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य र सांसदलाई समेत यो समस्याले तनाव दिएको थियो । पुरोहितले दलितले छोएको खाएर जात छाडेकाले उनकोमा पूजापाठ गर्नु आफै बिटुलिनु हो भनेर उपस्थिति जनाएनन् ।
आचार्यको फोन आएपछि नगरप्रमुख दीपनारायण रिजालसहितका जनप्रतिनिधिलाई ठूलो दबाब आइपरेको थियो । अन्ततः निकै ठूलै कसरतपछि नेर्पाका चित्रकुमार सुवेदी (नगरपालिकाकै नायब सुब्बा)लाई आचार्यको पितृश्राद्ध गर्न पठाइयो । लामो समयदेखि पुज्दै आएको पुरोहित नआएपछि हतोत्साहित भएका आचार्यलाई जिल्लामा सम्मान पनि गरिएको थियो । नगर दिवसका अवसरमा नगरपालिकाले, जिल्ला समन्वय समितिले र शहीद मनोज जोशीको स्मृति दिवसमा आचार्यलाई सम्मान गरेको थियो ।
सहभोजमा सहभागी भएपछि आचार्यलाई गाउँकै दाजुभाइले समेत बहिस्कार गरेका छन् । आचार्यलाई गाउँमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा निम्तोसमेत गर्न छाडेपछि नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र खोटाङ दलित विकास मञ्चले जिल्ला प्रशासन कार्यालयमा चार जनाविरुद्ध उजुरी दिएको थियो । जिल्ला प्रशासनमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयमा पक्ष र विपक्षबीच छलफलपछि मिलापत्रसमेत गरिएको थियो । गाउँ–समाजले बहिस्कार गरेपछि हप्ता दिनअघि जिल्ला छाडेकाका आचार्य अहिले प्रदेश सरकारसँग गुहार मागिरहेका छन् ।
जिल्लास्थित कानूनी कारवाही गर्ने अड्डाले आफूमाथि भएको अन्यायमा कुनै चासो नदिएपछि प्रदेश सरकारसमक्ष दुखेसो राख्न विराटनगर आएको आचार्यले बताए ।
“मैले हाम्रो समाजमा लामो समयदेखि रहिआएको छुवाछूत प्रथालाई अन्त्य गर्न अभियान शुरु गरेको हुँ”, उनले भने, “आफ्नै वंशका टाठाबाठा भनिने व्यक्तिले बहिस्कार गरेपछि कानूनी उपचार खोज्न यहाँ आएको हुँ ।”