झरनामा झरेर क्यानोनिङ महोत्सव मनाइदै

लमजुङ, ४ भदौ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो ।

पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताए । गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ । सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन् । महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ । महोत्सव सञ्चालनका लागि करीब रु साढे चार लाख खर्च हुने बताइएको छ । त्यस्तै सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ । गाईखुरे झरना करीब ७० मिटर अग्लो छ ।

Loading...