रोम, इटाली, ३ भदौ । इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजिनामा दिने तयारीमा रहेको मङ्गलबार बताएका छन् ।
मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजिनामा दिन लागेको खुलासा गरेको इटालीका सञ्चारमाध्यमहरूले जनाएका छन् । संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा भएको हो ।
प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, “संसदको बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय लिएको छु ।”
प्रधानमन्त्रीको उक्त घोषणा सरकारमा दक्षिणपन्थी धारका गृहमन्त्री मट्टेओ साल्भिनीले यसै महिना (अगस्ट)को शुरूमा प्रधानमन्त्रीविरूद्ध संसदमा अविश्वासको मत दर्ता गराएपछि प्रधानमन्त्री राजिनामा दिने सोचमा पुगेका थिए ।
इटालीमा प्रधानमन्त्रीलाई हटाई मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारीसाथ बहुमत सांसदहरूको सहयोगमा गृहमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।