फेसबुकमा भिडियो पोस्ट गरेर केपी, प्रचण्ड र देउवालाई मार्छु भन्ने पक्राउ

काठमाडौं, ३ भदौ । सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रमका प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछानेको गिरफ्तारीले आक्रोशित भई सामाजिक सञ्जालमा स्टाटस लेख्नेहरुलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ ।

यसैक्रममा प्रहरीले रविको पक्ष लिँदै प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रमुख नेताहरुलाई गाली गर्ने एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिमराका सागर मैनाली रहेका छन् । २८ वर्षका सागर मैनालीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अपशब्दहरु प्रयोग गर्दै गाली गरेका थिए । साथै उनले भिडियो रेकर्ड गरेर फेसबुकमा पोस्ट गर्दै नेताहरुलाई मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याएको जनाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले मैनालीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने जानकारी दिएका छन ।

केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएको प्रहरीको भनाइ छ ।

दुई दिन अघि अछामबाट एक जना युवक फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परेका थिए । उनले काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई गाली गरेर स्टाटस लेखेका कारण प्रहरीले अछामबाट पक्राउ गरेर काठमाडौं पुर्याएको थियो । ती युवकले माफी मागेपछि प्रहरीले छोडेको थियो ।

बाराबाट पक्राउ परेका मैनालीले पनि प्रहरीसँग त्यस्तो स्टाटस लेख्दा हुने परिणाम आफूलाई थाहा नभएको बयान दिएको बताइएको छ ।

Loading...