काठमाडाैं । लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ ।
चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि बन्द गरिएपनि रंगशालाको गाडी पार्किङ गर्ने स्थानमा एक सय भन्दा धेरै सैनिक तथा बख्तरबन्द गाडी राखिएको जनाइएको छ ।
यसअघि चिनियाँ अखबार ग्लोबल टाइम्सले गत मंगलबार सयौं सैनिक सवारी सेन्जेनतर्फ अगाडि बढेको भिडियो सार्वजनिक गरेको थियो । सेन्जेनमा यस्तो सैनिक अभ्यास यसअघि कहिल्यै नदेखिएको स्थानीयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ सञ्चारमाध्यमले पनि सेन्जेनमा भएको सैनिक अभ्यासबारे समाचार सार्वजनिक गरेका छन् । हङकङमा १० सातायता जारी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई भयभित पार्नका लागि चीनले सैन्य अभ्यास गरेको विश्लेषण गरिएको छ ।
यता अमेरिकी विदेश मन्त्रालयले भने सेन्जेनमा भएको युद्ध अभ्यासबारे चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको वाक स्वतन्त्रताको सम्मान गर्न चीनसमक्ष आह्वान गरेको छ ।
१० सातायता हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै चर्को आलोचना हुँदै आएको छ । प्रदर्शनकारीले गत सोमबार त्यहाँको विमानस्थल नै कब्जा लिँदै बुधबारसम्म त्यहाँका सयौं उडान र अवतरण अवरुद्ध गरेका थिए ।
प्रदर्शनकारीले हङकङमा अधिक स्वायत्तता, लोकतन्त्र तथा त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शनलाई केही दशक यताकै सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा हेरिएको छ ।