‘समृद्धिका लागि नवप्रवर्तन’

ललितपुर, २९ साउन ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार बनाउन नयाँ नीति ल्याउने भएको छ । विज्ञान र प्रविधिलाई समयसापेक्ष बनाउँदै अघि बढाउन नाष्टले ‘समृद्धिका लागि नवप्रवर्तन’ नीति अघि सारेको हो । उक्त क्षेत्रमा कार्यरत व्यक्तिले आन्तरिक स्रोतसाधनको अत्यधिक सदुपयोग, पर्यवरणीय सन्तुलन, कृषिमा आधुनिकीकरण, पर्यटनमा वैज्ञानिक विकास, वातावरण संरक्षणमा तीव्रता, विकासका लागि नवीन पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दा स्थापना र नयाँ रोजगारीको प्रवद्र्धनमा निर्वाह गर्ने भूमिकाले नवप्रवर्तन नीतिमा सहयोग पुग्ने बताइएको छ ।

विज्ञान र प्रविधिमा नवप्रवर्तनलाई साकार तुल्याउन युवालाई नयाँ योजनाका साथ अघि बढउने, समाजमा नयाँ काम थाल्ने, नयाँ प्रक्रिया र तरिका अपनाउन प्रेरित गर्ने तथा ताजा नीतिलाई व्यवहारमा उतार्ने काम गर्न लागिएको नाष्टका प्राज्ञ दीपक ज्ञवालीले जानकारी दिए ।

“विज्ञानसँगै नवप्रवर्तन नीति अघि बढाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । सो नीतिलाई सार्थक बनाउन समुदाय, सरकार र बजार व्यवस्थापकले नौलो कुरामा जोड दिँदै सहयोगी भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “नयाँ प्रविधि, व्यवहार र सोचले नवप्रवर्तनलाई फस्टाउने मौका दिन्छ ।” नाष्टले निर्माण गर्न लागेको सो नीतिमा सरकारले बजेट विनियोजन गरिसकेको बताइएको छ ।

समाजमा कृषि र उद्योगलाई रुपान्तरण गर्ने नयाँ क्षमता विकास हुन जरुरी छ । विज्ञानको क्षेत्रमा नवप्रवर्तन नीतिलाई अघि बढाउन विगतमा गरिएका कामको आँकलन गर्न जरुरी रहेको प्राध्यापक रामेश्वर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चायतकालभन्दा अहिले औद्योगिकीकरणमा ह्रास आएको छ । सरकारसँग पूर्णरुपमा आफ्नै देशमा रोजगारी सिर्जना गर्ने क्षमता विकास भइसनसकेकाले विज्ञान र प्रविधिमा सो नीति खाँचो छ ।” नेपालमा स्थापित सङ्घसंस्था, राज्य, सरकार, समुदाय, औद्योगिक संस्थालगायतले विज्ञान र प्रविधिसँगै नवप्रवर्तन नीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइएको छ ।

नाष्टले विज्ञानका क्षेत्रमा कार्यारत निकाय र व्यक्तिसँग छलफल गरी ‘नवप्रवर्तन प्रणालीमा आधारित पुस्तक’ प्रकाशन गरेर नेपाल सरकारलाई बुझाउने योजना अघि सारेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञानसँगै नवप्रवर्तन नीतिलाई जोड दिन आउँदो पुस–माघमा अन्तरर्राष्ट्रिय युवा विज्ञान र फागुन–चैतको बीचमा राष्ट्रिय युवा विज्ञान कार्यक्रम आयोजना गर्न लागेका छौँ ।”

यी दुई कार्यक्रम आयोजनापश्चात् नाष्टलाई नवप्रवर्तनको नीतिनिर्माण गर्न सहयोग पुग्ने बताइएको छ । नेपालमा नयाँ ढाँचा निर्माणका लागि नवप्रवर्तन नीति उपयोगी रहने नाष्टका सचिव महेशकुमार अधिकारीले बताउनुभयो । विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत सबै समुदायले नवप्रवर्तनको नीति निर्माणमा आफ्नो व्यक्तिगत भनाइ स्वतन्त्र रुपमा राख्न पाउनेछन् । सो क्षेत्रमा कार्यरत सबैको भनाइबाट नवप्रवर्तन नीतिनिर्माणमा सहयोग पुग्ने नाष्टले अपेक्षा गरेको छ । आगामी दिनमा विज्ञान र प्रविधिसँगै उक्त नीतिलाई एकैसाथ अघि बढाउन नाष्टले हाल सो विषयबारे छफफल शुरु गर्न थालेको छ ।