सिद्धिचरण लोकमार्ग खुलेपछि पहाडी क्षेत्रको जनजीवन सहज बन्दै

गाईघाट, २७ । सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको छ ।सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको हो ।

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको ठाँटी भञ्ज्याङमा गत असारको चौथो हप्ता आएको निरन्तर वर्षापछिको पहिरोले अवरुद्ध गरेपछि उक्त मार्गको पुरानो ट्र्याक छाडेर पुन नयाँ ट्र्याकबाट सडक निर्माण कार्य शुरु गरेको थियो ।सडक डिभिजन कार्यालय लहान सिरहा र कटारी नगरपालिकासहित स्थानीयवासीको सहयोगमा सो सडकको नयाँ ट्र्याक निर्माणकार्य सम्पन्न भएपछि दुई दिनदेखि सिद्धिचरण लोकमार्ग पूर्णरुपमा सुचारु हुन थालेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।

अवरुद्ध सडक सञ्चालनमा आएपछि सिरहाको मिर्चैया, कटारी हुँदै घुर्मी भएर हर्कपुर ओखलढङ्ंगा र खोटाङको हलेसी दिक्तलेसम्म यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।कटारीस्थित ठाँटी भञ्ज्याङ्मा वर्षेनी खस्ने पहिरोका कारण सडक अवरुद्ध हुन थालेपछि सडकको एलाइन्स र ट्र्याक नै पूर्णरुपमा परिवर्तन गरेर अर्को सडक निर्माण गर्नुपरेको कारण केही समय लाग्न पुगेको सडक डिभजन कार्यालयका प्राविधिक प्रमुख विनोदकुमार साहले बताए।

सो लोकमार्ग सञ्चालन भएसंगै तराईबाट कटारी हुँदै पहाडी क्षेत्र खोटाङ र ओखलढुङ्गा तथा खोटाङ र ओखलढुङ्गा हुँदै तराईसम्म यातायताका साधान सुचारु भएपछि दैनिक हजारौं यात्रु आवतजावत गर्न थालेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए।

Loading...