रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

रुकुमपूर्व, २६ साउन । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ ।

‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उनले भने “अहिले त ग्राहक घरमै आउँछन् ।” आफ्नै गाउँघरमा स्याउ फलाएर सफलता पाएपछि खुशी हुँदै उनले भने “पहिले जुम्ला जाँदा रुखबाट स्याउ टिपेर खाएको थिए । अहिले त्यो अनुभव घरमै गर्न पाएको छु । ”

स्याउको एउटा बिरुवामा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । गतवर्ष एउटै बोटमा सयभन्दा बढी स्याउको दाना फलेको उनले बताए । विसं २०६९ मा जुम्लाबाट व्यापारीले बेच्न ल्याएको ३३० वटा बिरुवा किनेर स्याउ खेती शुरु गरेको पुनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माका वासु बुढामगरको बगैंचामा पनि एक हजार स्याउका बिरुवा छन् । ती बिरुवा विगत चार वर्षदेखि फल दिन थालेको उनले बताए। एउटा बिरुवामा तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लाग्ने गरेको बुढामगरको भनाइ छ ।

उनले भने, “पहिले पहिले जुम्ला तथा रोल्पाको विभिन्न ठाउँमा पुग्दा स्याउ फलेको देखेको र अहिले आफ्नै बगैंचामा फलेको स्याउ टिपेर खान पाउँदा निकै खुशी लागेकोे छ ।” “पहिले स्याउ कहाँ पाउँला जस्तो हुन्थ्यो तर, अहिले स्याउ कहाँ लगेर बिक्री गरौं जस्तो भइसक्यो”, उनले भने । गतवर्ष स्याउ ढुवानी नभएर कुहिएर गएकोसमेत उनले बताए ।

सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै रुकुमपूर्वमा पुन र बुढामगरजस्ता थुप्रै स्थानीयवासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । प्रदेश सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ ।

रुकुम पूर्व उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा लगाएको स्याउमा अहिले राम्रो दाना लागेको छ । यतिबेला जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइँवाङ, रल्तिजाङ, हुकाम, मयाङ लगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जा लगायतको ठाउँमा लगाएको स्याउले राम्रो फल दिन थालेको छ ।

कृषि विज्ञका अनुसार स्याउ मध्यम चिसो र हिमाली भेगमा फल्ने गर्दछ । स्याउ खेतीको लागि मलिलो माटो आवश्यकपर्ने भएकोले त्यस्तो खालको माटो रुकुममा भएको किसान बताउँछन् । रुकुम पूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बिरुवा किनेर रोपेका छन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

आगामी वर्षमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोचमा किसान छन् । परीक्षणकालमै स्याउका बोटले लटरम्म दाना दिन थालेपछि अब व्यावसायिक रुपमा खेती गर्न सकिने किसान बताउँछन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह सुझाव पाउन सकेका छैनन् ।

लगाएको दुई तीन वर्षमै अग्लो र त्यसबाट लटरम्म स्याउ फलेपछि किसान पनि उत्साहित छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा पहिलेदेखि नै स्याउखेती गर्दै आए पनि भूमे गाउँपालिकामा भने भर्खरै मात्रामा लगाइएको बताइएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् ।

जिल्लाको विभिन्न उच्च क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न सकिने भएपछि किसान उत्साहित भएका हुन् । यहाँ फलेको स्याउको स्वाद पनि हिमाली भेगको जस्तै रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । विस्तारै स्याउ उत्पादन हुने क्षेत्रको पहिचान गरी गाउँपालिकाबाट किसानलाई सहयोग गर्ने उनको भनाइ छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा स्याउ उत्पादन हुने भएपछि सहकारीमार्फत स्याउ उत्पादनलाई जोड दिने निर्णय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए। यसैवर्ष पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न क्षेत्रमा कृषि सहकारीमार्फत २५ हजार स्याउका बिरुवा लगाउने तयारी भइरहेको सहकारीका अध्यक्ष जीताराज बुढाले बताए ।

अहिले स्याउको बोट लगाउनको लागि खाल्डो तयार पार्ने काम भइरहेको पनि उनले जानकारी दिए । गतवर्ष किसानले उत्पादन गरेको स्याउ कुहिएर गएकोले यसवर्ष भने किसानको दुःखलाई खेर जान नदिने गाउँपालिकाले जनाएको छ । यसवर्ष उत्पादित स्याउलाई ढुवानीको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष घर्तीले बताए।

बिरुवा उत्पादन, खेती गर्ने तरीका र यस क्षेत्रको भौगोलिक अध्ययनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ ।