‘पार्टीले समय अनुसार सिद्धान्त परिमार्जन गर्नुपर्ने’

काठमाडौँ, २४ साउन । राजनीतिक दलले समयअनुसार आफ्ना पार्टीका सिद्धान्तलाई लागू गराउनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् ।

समाजशास्त्रीय समाजले आज आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक प्रा डा कृष्ण खनालले राजनीतिक दलले पुरानो विचार लादेर राजनीतिक गरिरहेका बताए ।

“कम्युनिष्ट पुष्पलाल श्रेष्ठको र नेपाली काङ्ग्रेस बिपी कोइरालाको बिचारमा अहिले पनि अघि बढेको छन्”, उनले भने, “अब समय परिस्थितिअनुसार नयाँ बिचारलाई दलले आत्मसाथ गर्नुपर्दछ ।” उनले पुराना बिचारलाई त्यागी समयअनुसार नयाँ बिचारको प्रादुभाव गर्नु आवश्यकता रहेको धारणा राखे ।

नेपालमा पटक–पटक पार्टीले नीति सिद्धान्तअनुरुप गलत गरे पनि नेतृत्वमा बस्ने नेताको गलत आचरण रहेको भन्दै उनले गलतकार्य गर्ने नेतालाई पाखा लगाउनुपर्ने बताए । उनले पार्टी हारिरहेका बेला नेता जित्ने लोकतन्त्र मुलुकमा रहेकाले त्यसो हुन नसक्ने जिकिर गरे ।

“पार्टी हारेका बेला त्यो पार्टीको नेता पनि हार्दछ”, उनले भने, “पार्टी हार्ने र नेता जित्ने लोकतन्त्र हुदैन ।” उनले मुलुकमा लोकतन्त्र आए पनि प्रणाली बनिनसकेकाले मुलुकको विकास हुन नसकेको बताए ।

अर्का राजनीतिक विश्लेषक हरि शर्माले लोकतन्त्रमा जनताले मतदान गरेर बस्नुमात्र नभइ सरकारलाई खबरदारी गर्नुपर्ने बताए । “हामीले खोजेको लोकतन्त्र मतदान गरेर पाँच वर्षसम्म जनता चुप लाग्नु मात्र होइन”, उनले भने, “जनताले सरकारका नराम्रा कुराबारे खबरदारी गर्नुपर्दछ ।”