नेपालगञ्ज, २३ साउन । बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।
सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं। ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका छन् । तीमध्ये १३६ जनाको सकुशल उद्दार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्दार गरिएको छ ।
यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा गरेको माइती नेपालले जनाएको छ । त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्दार सङ्ख्यासमेत बढेको छ ।
राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ । मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।
साथै जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्दार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनस्र्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्दार, पुनस्र्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए ।