मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिने अल्टिमेटम

२३ साउन, क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ।

अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख)सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो ।

मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत अवैधानिक रूपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने छन् ।

भिसा र राहदानीको म्याद सकिएर अवैधानिक रूपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ। यो कार्यक्रम अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवाना स्वरूप ७ सय रिङ्गेट र राहदानी नभएकाहरूले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १ सय ६० रिङ्गेट तिर्नुपर्नेछ।

एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ। त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ ।

नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने प्रावधान तोकिएको छ ।

Loading...