पाल्पाका श्रमिक मजदुरलाई प्रोत्साहन रकम

बेझाड, १९ साउन । रामपुर नगरपालिका क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई काममा हौसला बढाउन प्रोत्साहन रकम प्रदान गरिएको छ । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले निर्माण क्षेत्रका अगुवा मजदुरलाई घर ढलानको सङ्ख्याको आधारमा प्रतिढलान रु दुईका दरले प्रोत्साहन प्रदान कार्य शुरु गरेको हो ।

समितिमा आबद्ध भएकामध्ये ५४ अगुवा मजदुरलाई प्रोत्साहन रकम प्रदान गरिएको समितिका अध्यक्ष माधव पोखरेलले बताए । “श्रमिक मजदुर भनेपछि सबैले हेयको दृष्टिकोण राख्ने प्रवृत्ति अझै पनि कायमै छ, उनीहरुको पेशालाई मर्यादित र सम्मानित बनाउन प्रोत्साहन रकम प्रदान कार्यक्रम शुरु गर्न थालेका हौँ”, उनले भने ।

गत आर्थिक वर्षमा संस्थामा आबद्ध अगुवा मजदुरको नेतृत्वमा ५०५ घर तथा भवनहरुको ढलान भएको थियो । मजदुर पनि सम्मानित हुने अवसर आएकोमा खुशी व्यक्त गर्दै प्रोत्साहन रकमले काममा झन् हौसला बढेको मानबहादुर लामाले बताए।

“मजदुरलाई हेर्ने दृष्टिकोण नै नराम्रो रहेका बखत यस्ता कार्यक्रमले काममा मनोबल बढ्दै जानेछ”, उनले भने । मजदुरको हकहितका लागि समितिले रु दुई लाखसम्म निःशुल्क दुर्घटना बिमा पनि गरिदिएको छ । रामपुर क्षेत्रमा करीब दुई हजार ५०० को हाराहारीमा श्रमिक मजदुर रहेका छन् । त्यसमध्ये पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा एक हजार मजदुर आबद्ध छन् ।

Loading...