शिक्षामन्त्रीको अध्यक्षतामा सरकारले बनायो त्रिविमा सर्च कमिटि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सरकारले सर्च कमिटी गठन गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन गरिएको उक्त सर्च कमिटीले सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि अध्ययन गरी नाम सिफारिस गर्ने बताइएको छ ।

सर्च कमिटीमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा सदस्य रहेका छन् ।

सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको तीन वर्षे पदावधि गत साउन ५ गते नै सकिएको छ । अहिले आयोग नेतृत्व विहीन बनेको छ । आयोगका सदस्यहरु मध्ये लोकसेवा आयोगका तर्फबाट प्रतिनिधित्व गर्ने ब्रम्हदेव राय र चिन्तामणि पोखरेलको अवधि २०७७ साल मंसिरसम्म बाँकी रहे पनि प्रधानमन्त्रीको निर्णयमा सदस्यहरुको नाम समेत सिफारिस गर्न भनिएको छ ।

आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरेर आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा अध्यक्ष शर्मा र पोखरेल सहित आयोगका पदाधिकारी र कर्मचारी गरी १० जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विश्वविद्यालय ऐनमा निलम्बनमा परेको सदस्यको मुद्दा किनारा नलागे सम्म नयाँ नियुक्ति नहुने व्यवस्था भए पनि प्रधानमन्त्रीले सदस्यको नाम समेत सिफारिस गर्ने गरी सर्च कमिटि गठनको निर्णय गरेका छन् ।

सेवा आयोगका पदाधिकारीको राजनीतिक नियुक्ति हुने भए पनि सदस्यका लागि विद्यावारिधि गरेको र वहालवाला प्राध्यापक नै हुनुपर्ने मापदण्ड छ ।

त्रिवि अन्तर्गत उच्च शिक्षा परियोजनाका प्रमुख शंकर भण्डारी, भूगर्भ शास्त्र केन्द्रीय विभाग प्रमुख लालु पौडेल, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछाने र अवकाश प्राप्त प्राध्यापक विजय सिलवाल अध्यक्षका रुपमा राजनीतिक लविङ्मा सकृय रहेको श्रोतले जनाएको छ ।

Loading...