कक्षा १२ को ग्रेड वृद्धि गर्ने सम्बन्धी यस्तो व्यवस्था : हेर्नुस् सूचना

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

बोर्डले परीक्षाको समय तालिका समेत सार्वजनिक गरिसकेको छ । जसअनुसार भदौ २२ र २३ गते विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा संचालन हुनेछ र त्यसका लागि भदौ २ गते भित्र दस्तुर तिर्न र भदौ ५ गतेभित्र फारम बुझाइसक्नुपने व्यवस्था गरिएको छ ।

गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको परीक्षाफल साउन १३ गते प्रकाशित भएको थियो । बोर्डले परीक्षा भएको ७५ दिनमै परीक्षाफल प्रकाशन गर्न सफल भएको थियो । नियमित, ग्रेडबृद्धि र आंशिक गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीहरु सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

फारम भर्न पाउने प्रावधान

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार सबै विषयमा सी प्लस वा माथिको ग्रेड ल्याएका विद्यार्थीले कुनै दुई विषयमा मात्र सी वा डी प्लस ल्याएको भए मात्र फारम भर्न पाउछन । त्यसैगरी अर्को प्रावधान अनुसार सबै विषयमा डी प्लस वा सो भन्दा माथि ग्रेड ल्याएका विद्यार्थीले कुनै दुई विषयमा मात्र डी वा इ ग्रेड ल्याएका भए उनीहरुले पनि ग्रेड वृद्धिको अवसर पाउने छन । उपरोक्त अवस्थामा अनुपस्थित भएकाले समेत परीक्षामा सामेल हुन पाउने बताइएको छ भने कुनै एक विषयमा मात्र पनि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ ।
तर, परीक्षाफल रद्द गरिएका र शैक्षिक प्रमाण पत्र प्राप्त गरिसकेकाले ग्रेड वृद्धिमा सहभागी हुन नपाउने प्रावधान राखिएको छ ।

कहिले भर्ने र कहाँ भर्ने

परीक्षा बोर्डले फारम भर्ने प्रयोजनको लागि आफ्ना सम्पर्क कार्यालयहरु तोकेको छ । विद्यार्थीले विद्यालयमा बुझाएको फारम विद्यालय मार्फत सम्पर्क कार्यालयमा भदौ ५ गतेभित्र बुझाइसक्नुपर्ने र सम्पर्क कार्यालयले भदौ ९ गतेभित्र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पथाइसक्ने समयसीमा तोकीएको छ । फारम साथ वेव साइड बाट डाउनलोड गरिएको ग्रेड सीट समेत संलग्न हुनुपर्ने बताइएको छ ।

हेर्नुस् सूचना

Loading...