१४ साउन, काठमाडौं । आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि सरकारले काटेका २५ हजार चेकको झण्डै १९ अर्ब साट्न बाँकी रहेको पाइएको छ । असारमा काटिएका २४ हजार नौ सय १७ चेकको करिब १९ अर्ब रुपैयाँ साट्न बाँकी रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
विगतदेखि नै आर्थिक वर्षको अन्तिममा जथाभावि चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने सरकारी प्रवृत्तिको कारण यस्तो भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक बनाइदिएर सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल आरोप लगाउँछन् ।
अझै पनि चेक नसाटिनु आर्थिक अनुशासनको बर्खिलाप भएको पूर्वअर्थसचिव खनाल बताउँछन् । साउन १३ गतेसम्म पनि चेक नसाटिनुलाई चलखेल भएको हुन सक्ने उनले बताए । उनले भने, ‘यत्रो समयसम्म कर्मचारीले चेक घर्रामा राखेर ठेकेदार तथा आपूर्तिकर्तासँग ‘बार्गे्निङ’ गर्छन् ।’
सम्बन्धित चेक सरकारी कार्यालय आफैंले राख्दा साट्न ढिलाइ हुने गरेको छ । यस्तो चेक भुक्तानी नगरेर जालसाजीका लागि सरकारी कर्मचारीले राख्ने गरेको खनालले बताए । यसरी चेक साट्न ढिलाइ हुनुका तीनवटा कारण हुने उनको बुझाइ छ । असार २५ गतेसम्म चेक काट्नुपर्ने हुन्छ । त्यसरी काटिएको चेक साट्न ६ दिनसम्म लाग्नु स्वाभाविक भएको खनालले बताए ।
उनले भने, ‘सम्पर्क कार्यालय काठमाडौं भए पनि कतिपय ठेकेदार तथा निर्माण व्यवसायीको ठेक्का अन्य जिल्लामा हुन्छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित स्थानमा चेक पठाएको हुन्छ । सबै संकलन गरेर दुर्गमबाट चेक साट्न ढिलाइ हुनु स्वाभाविक हो ।’
काम सकिएपछि सम्बन्धित कार्यालयले विवरणसहित चेक काट्न कोष तथा लेखा नियन्त्रकको कार्यालय पठाउँछ । विवरणका आधारमा चेक काटी सम्बन्धित कार्यालयमा पठाइन्छ । तर, त्यस्ता चेकलाई कार्यालयले आफ्नै घर्रामा राख्ने गरेको पूर्वअर्थसचिव खनालको भनाइ छ ।
आर्थिक अनुशासन कायम राख्न २५ गते नै चेक काट्नुपर्ने व्यवस्था छ । त्यसपछि चेक काट्नुपरे महालेखा नियन्त्रकको अनुमति लिनुपर्ने हुन्छ । तर असार मसान्तसम्मै चेक काटिन्छ । ०७५÷७६ मा असार मसान्तकै दिन सबैभन्दा बढी (४६ हजार) चेक काटिएको थियो । यसरी मसान्तसम्मै चेक काट्नु पनि भ्रष्टाचारको अर्काे रूप हो ।
महालेखा नियन्त्रकको कार्यालयले १८ अर्ब ९८ करोड रुपैयाँ चेक साट्न बाँकी रहेको तथ्यांक देखाइरहँदा राष्ट्र बैंकले भने १० अर्ब रुपैयाँको हिसाब निकालेको छ । केन्द्रीय बैंकका अनुसार असारमा साटिएका १० अर्ब रुपैयाँको चेक काट्न बाँकी छ ।