काठमाडौं । पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्।
उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ।
तर हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन्।उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन्।
गत वर्ष लक्जम्बर्गमा चुरोट खरिद गर्दा उनका छोराले उक्त तस्बिरको पहिचान गरेको फ्रान्सका सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसपछि त्यो बट्टा उनले घर लिएर गएका थिए।मेरो भाइ लक्जम्बर्गबाट घर फर्कँदै थियो। फर्कनासाथ केही नभनी उसले चुरोटको एउटा ठूलो बट्टा टेबलमा राख्यो, उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनिन्।
हामी अवाक् भयौँ। हामीले त्यो पत्याउनदै सकेनौँ।सपरिवार तस्बिर हेरेपछि त्यो आफ्नो बाबुको खुट्टा रहेको उनीहरूले निष्कर्ष निकाले।यो तस्बिर हाम्रो बुवाको हो। ती निसान अनि लक्षण, उनकी छोरीले थपिन्।
तर ती व्यक्तिका अनुसार उनले आफ्नो तस्बिर त्यसरी प्रयोग गर्न उनले अनुमति दिएका थिएनन्।उनका अनुसार उक्त तस्बिर एउटा स्थानीय अस्पतालमा लिइएको थियो जहाँ उनी काटिएको खुट्टामा कुनै किसिमको हिँडडुल गर्न सकिने खाले उपकरण जडान गर्न सकिन्छ कि भनेर बुझ्न गएका थिए।
बीस वर्षदेखि उनी बैसाखीको सहारा लिएर हिँडडुल गर्दै आएका छन्।उक्त परिवारका वकिलले खुट्टाको तस्बिर ती व्यक्तिको भएको पुष्टि गरेका छन्।
ूप्रत्येक निसान विशेष छ। ती व्यक्तिको अर्को खुट्टामा जलेको निसान छ, त्यसैबाट यो तस्बिर चिनिन्छ। कुनै विशेषज्ञलाई यो तस्बिर पहिचान गर्न कुनै पनि किसिमको समस्या हुनेछैन, उनले भने।
उनले कुनै एउटा व्यक्तिले बिनासहमति आफ्नो तस्बिर चुरोटको बट्टामा युरोपेली सङ्घअन्तर्गत रहेका मुलुकमा भेट्नु अविश्वसनीय रहेको टिप्पणी गरेका छन्।
ती वकिले उक्त तस्बिर कसरी प्रयोगमा आयो भन्नेबारे अस्पतालसँग जानकारी माग गर्दै पत्र लेखेका छन्।युरोपेली सङ्घ अन्तर्गतका सबै मुलुकमा पाइने चुरोटका बट्टामा त्यस्तो तस्बिर वितरणका लागि जिम्मेवार युरोपेली आयोगसँग पनि सम्पर्क गरिएको बताइएको छ।
उनका अनुसार आयोगले सामान्यतया त्यस्तो तस्बिर आफ्नो डेटाबेसबाट प्रयोग गर्छ। तर त्यसमा भएको सामग्री प्रमाणित गरिएको हुन्छ र चित्रण गरिएका व्यक्तिको अनुमति लिइएको हुन्छ। एजेन्सी