युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा ‘युथ गाला’ हुँदै

ड्रोन, रोबोट, साङ्गीतिक प्रतिस्पर्धाका साथै अन्तराष्ट्रिय विज्ञहरुको मोटिभेसनल क्लास

काठमाडौं, ८ साउन । युवाहरुलाई लक्षित गरी इन्टरनेशल युथ सोसाइटीले युथ मेलाको आयोजना गरेको छ । साउन १० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको उक्त मेलामा विभिन्न प्रस्तुतिहरु रहनेछन ।

‘युथ गाला’ नाम दिइएको मेलाका बारेमा जानकारी दिन बुधवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा इन्टरनेशनल युथ सोसाइटीकी कन्ट्री डिरेक्टर जानकी गुरुङले कार्यक्रमका बारेमा जानकारी दिइन । उनले इन्टरनेशनल युथ सोसाइटीले हरेक युवाहरुलाई एउटा बृहत मञ्च दिएर उनीहरुको क्षमतालाई बाहिर ल्याइदिन सहयोग गरेको र सोही क्रममा यो युथ गाला कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन । शुक्रबार प्रज्ञा भवनमा उपस्थित भएर युवा विद्यार्थीहरुका विविध क्षमताहरुको अवलोकन गर्न निम्तो दिँदै उनले यो एक बृहत कार्यक्रम भएको बताइन ।

‘टुगेदर वी क्यान’ भन्ने मूल नाराका साथ गर्न लागिएको ‘युथ गाला’मा करिव २ हजारभन्दा बढी युवाहरुको सहभागिता रहने बताइएको छ । यस मेलामा अहिलेको चर्चित ड्रोनको प्रतिस्पर्धा, फुड फेस्ट र रोबोटिक वर्कसपका साथै साङ्गीतिक प्रस्तुतिहरु पनि रहनेछन । त्यसैगरी मेलाको अर्को आकर्षण स्पिकमाण्डौ नामक कार्यक्रम रहेको छ । यस सेगमेन्ट अन्तर्गत लामो समयदेखि विभिन्न चरणहरु पार गरेर फाइनलमा पुगेका पाँच जना युवाहरुले आफ्नो मोटिभेस्नल स्पिच राख्नेछन् । मेलामा विभिन्न चर्चित कलाकारहरुका गीत तथा नृत्य पनि प्रस्तुत गरिने बताइएको छ ।

मेलामा देखाइने ड्रोन, रोबोटिक वर्कसप, स्पिकमाण्डौ अनि साङ्गीतिक प्रस्तुतिहरुको स्वतन्त्र र विज्ञहरुको टिमले मुल्यांकन गर्ने बताइएको छ । जसबाट प्रथम, द्वीतीय र तृतीय हुने प्रतिस्पर्धीहरुलाई नगद तथा अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ । इन्टरनेशनल युथ सोसाइटी नेपालका व्यवस्थापक विवश राईले प्रतिस्पर्धामा प्रथम हुने प्रतिस्पर्धीलाई २५ हजार, द्वीतीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । उनले ‘युथ गाला’ कार्यक्रम युवाहरुले आफ्नो क्षमता प्रस्तुत गर्न र अरुका क्षमताहरुको अवलोकन गरी क्षमता विकास गर्नका लागि महत्वपूर्ण अवसर हुने बताए ।

कार्यक्रममा सहभागीहरुलाई नेपाल र अन्य देशबाट आएका विज्ञहरुले विभिन्न विषयमा विशेष तालिम तथा प्रशिक्षण पनि दिने बताइएको छ । कार्यक्रममा क्यानडाका वैज्ञानिक कोनार्ड रिजाल, माल्टाका स्टेफन भेल्ला र टर्कीका प्रशिक्षकहरुको विशेष कक्षा रहने बताइएको छ ।

‘युथ गाला’ लाई शैक्षिक क्षेत्रमा चर्चा कमाएको मेरो कन्सल्टेन्सीले स्पोन्सर गरेको छ । त्यसैगरी शुक्रबार प्रज्ञा प्रतिष्ठानकाे प्राङ्गणमा हुने कार्यक्रममा नेपालका ३० भन्दा बढी शैक्षिक कन्सल्टेन्सीहरुको स्टल रहने बताइएको छ ।

 

Loading...