७ साउन, गुल्मी । जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा १२ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । अझै पहिरोमा परी २ जना घाइते छन् । पहिरोमा पुरिएका मृतकको शव निकाल्ने क्रम जारी छ ।
पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ । गाउँको चार वटा घर नै पहिरोले बगाएको पत्रकार तिलाचन पाण्डेले जानकारी दिए । अन्यको नाम खुल्न बाँकी छ ।
त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ ।
उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ ।