काठमाडौँ, २८ साउन । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ ।
यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए । उनले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराए ।
गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिए । उनका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ ।
उनले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए ।