पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालगन्ज, २८ साउन । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ ।

शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका कारण त्यो सम्भव हुन सकेको छैन ।

त्यसैगरी अबिरल वर्षाका कारण जिल्लाको राप्ती र डुडुवा नदीमा आएको भीषण बाढीका कारण राप्ती–सोनारी गाउँपालिकाअन्तर्गतका गाउँहरू अहिले डुबानमा परेका छन् । बाढी र डुबानका कारण सो गाँउपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने आमालाई बाढीले बगाएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बाढीमा फसेका नागरिकको उद्धारका लागि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरीसहितको उद्धार टोली परिचालन गरिसकिएको छ । अबिरल वर्षाका कारण बैजापुर, बिनौना, फत्तेपुर, होलिया, बेतहनी बनकट्टी, कम्दी गाउँ डुबानमा परेका छन् ।

त्यसैगरी किरण नालामा आएको बाढीले कोहलपुर र खजुरा क्षेत्रका बस्ती पनि प्रभावित भएका छन् ।

स्थानीय प्रशासनले बाढीबाट बिस्थापितलाई सुरक्षित स्थानमा राख्ने, खाद्यान्न सामग्री उपलब्ध गराउने, उचित बसोबासको व्यवस्था मिलाउने, उपचार सेवा उपलव्ध गराउनेलगायत तत्काल राहतको चाँजोपाँजो मिलाएको जनाएको छ ।

Loading...