भक्तपुर, ३ साउन । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ ।
शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरूले अङ्गदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा दान दिने मञ्जुरिनामामा हस्ताक्षर ग¥यो ।
कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधन सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताए । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउँदै उनले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधोपचारका लागि सरकार लागी रहेको जानकारी दिए ।
केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्गदान गर्ने कानूनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताए । उनले कानून बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अङ्ग लिएर ६ जनालाई मिर्गौला र एकजनालाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए । सो अवसरमा परराष्ट्रमन्त्रीकी धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा रविभूषण सुवाललगायत १४ जनाले पनि अङ्गदानको घोषणा गरेका थिए ।