दार्चुला, ३ साउन । मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानूनी कारवाही गर्न खोज्दा श्रीमतीले श्रीमान्लाई कारवाही नगर्न आग्रह गरिन ।
श्रीमतीको आग्रहअनुसार प्रहरीको महिला तथा बालबालिका सेलले अब पतिले मदिरा सेवन नगर्ने सहमतिमा मिलापत्र गराएर दुवै जनालाई छोडियो ।
यसैगरी नौगाड गाउँपालिका– २ का ३४ वर्षीया विमला बडाल लामो समयदेखि श्रीमान् शेरसिह बडालबाट घरेलु हिंसा सहन बाध्य थिईन । पटक पटक मदिरा सेवन गरि कुटपिट तथा गाली गलौजका गरेका कारण उनी मात्र होइन, उनको पूरै परिवार समस्यामा थियो । गत असार ७ गते मध्यरातमा मदिरा सेवन गरिआएका पतिले घरमा आगो लगाउँदा घरभित्रको समान निकाल्ने क्रममा ती महिलाको आगोमा जलेर ज्यान गयो ।
यसअघि पटकपटक प्रहरी चौकी तथा वडा समितिमा घरेलु हिंसा गरेको भन्दै छलफल भएको थियो । गल्ती भयो आगामी दिनमा कुटपिट गाली गलौज गर्दैन भन्दै पतिले माफी माग्दै आएका थिए । अन्ततः घरेलु हिंसाकै कारण ती महिलाले आगोमा जलेर ज्यान गुमाउन पुगिन् ।
“घरेलु हिंसा पीडित महिला नै आफ्नो श्रीमान्लाई कारवाही गर्नु हुँदैन भनेर आउँछन्”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले भने, “शुरुमा पीडित भयो भन्दै निवेदन आउँछ, पछि उनै महिला हैन घरमा समस्या हुन्छ, छोडिदिनुप¥यो भन्छन् ।”चालू आर्थिक वर्षमा महिला तथा बालबालिका सेलमा आएका सबै ३७ उजुरी मिलापत्रमा टुङ्गिएको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ ।
एक महीनासम्म छलफल गर्दागर्दै उनीहरु मिलापत्र गर्न इच्छुक हुने गर्छन् । “घरेलु हिंसा कसुर सजाय ऐन २०६६ अनुसार पनि घरेलु हिंसा, महिला हिंसाका घटनामा बढी समय छलफल गराउने नै हो”, प्रहरी निरीक्षक रवीन्द्र कठायतले भन्नुभयो । शुरुमा श्रीमान्को रिसले निवेदन दिन्छन्, पछि मिलापत्र गरिदिनुप¥यो भनेर आउँछन्, उनले भने।
ग्रामीण क्षेत्रका महिला मदिराका कारण बढी हिंसामा पर्ने गरेका छन् । उनीहरु समाजका कारण पनि खुलेरै विरोध गर्न नसक्ने अवस्था रहेको जानकार बताउँछन् । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले गर्दा अहिले पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलसम्म आउने सबै घटनाहरु मिलापत्रमा टुङ्गिने गरेको छ ।
मानव अधिकार क्षेत्रमा क्रियाशील संस्था इन्सेक दार्चुलामा जनवरीदेखि जुनसम्म २८ वटा घरेलु हिंसाका घटना अभिलेख गरिएकामा सबै घटना मिलापत्रमा टुङ्गिएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार महिला सामाजिक सम्बन्धका कारण पनि खुलेरै श्रीमान्को विरुद्धमा मुद्दा हाल्न सक्दैनन् । श्रीमान्लाई जेल हाल्दा आफ्नो परिवार र बालबच्चाको पालनपोषणमा समस्या हुनुभन्दा त हिंसा नै सहेर भए पनि बस्न उनीहरु बाध्य छन् ।
जिल्लामै पहिलोपटक एकमात्रै घरेलु हिंसाको मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ । “अहिलेसम्म कहिल्यै मुद्दा दर्ता भएको तथ्याङ्क छैन्”, अदालतका स्रेस्तेदार किरन सिंहले भने, “पहिलोपटक घरमा सासू पार्वती जोशी ससुरा प्रमानन्द जोशी, जेठाजु श्यामराज जोशीले हिंसा गरेको भन्दै महाकाली नगरपालिका– ७ का २५ वर्षीया विमला जोशीले मुद्दा दायर गरेकि छिन् ।
उनका पति नवीनचन्द्र जोशी भारतमा मजदूरी गर्न गएको बेला घरमा परिवार मिलेर आफूमाथि हिंसा गरेको भन्दै उनले मुद्दा दायर गरेको जिल्ला अदालतले जनाएको छ । घरमा आफूलाई खान लगाउन नदिने, अनावश्यक गाली गलौज गर्ने, शारीरिक, मानसिक, सामाजिक र आर्थिकरुपमा यातना दिएको भन्दै उनले उजुरी दिएको स्रेस्तादार सिंहले बताए । उक्त घटनाको फैसला हुन बाँकी छ । अहिले उनीहरुले तारिख बुझाइरहेका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ को साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा एक, पुसमा छ, माघमा तीन, फागुनमा दुई, चैतमा तीन, वैशाखमा दुई, जेठमा चार र असारमा पाँच वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ ।
यसैगरी आर्थिक वर्ष २०७२÷०७३ मा ४३, २०७३÷०७४ मा २७ र २०७४÷०७५ मा ३१ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका छन् ।
“जिल्लामा मदिराका कारण थुप्रै घरेलु हिंसाका घटना भए न्यायिक निकायसम्म आउन सकेका छैनन्”, अधिवक्ता धीरेन्द्रसिंह साउँदले भने, “पतिको नाममा उजुरी गरेपछि समाजमा बद्नामी भइन्छ भन्ने चिन्ता छ ।” यस्तै पति कारागार गयो भने, घरको सहारा हुँदैन, त्यही घरमा बस्न सकिँदैन भन्ने मानसिकताका कारण पनि ग्रामीण भेगमा बस्ने महिला बढि हिंसा सहन बाध्य छन्, अधिवक्ता साउँदले भने ।