रेल गुड्न नपाउँदै कमला नदीले बगायो लिक

जनकपुर । रेल गुड्न नपाउँदै बहुप्रतीक्षित जनकपुर–जयनगर रेलको लिक कमला नदीले बगाएको छ । अविरल वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेर रेलको लिक भत्काएको हो ।

जयनगर–जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको छ ।


इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले रेलको लिक ट्रयाक बगाएको छ। बाढीले रेलको ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको रेल्वे विभाग जनकपुरधामले जनाएको छ ।

अत्याधिक वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खालसमेत भत्किएको छ । बाढीबाट भएको क्षतिबारे अनुगमन तथा निरीक्षण कार्य भइरहेको विभागले जनाएको छ ।


जयनगर–जनकपुर रेल सेवा असोजदेखि नै सञ्चालनको तयारी थियो । रेल विभागले भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग रेल खरिद सम्झौतासमेत गरिसकेको छ।

८५ करोड रुपैंयाँको दुईवटा इन्जिनसहित दुई रेल खरिद गरिने जनाइएको छ। रेल्वे परियोजनामा भारत सरकारको करिब १० अर्ब लगानी छ । बाढीले लिक भत्काएपछि रेल सञ्चालनको सरकारी लक्ष्य पछाडि ढकलिने निश्चित देखिएको छ ।