बेपत्ता सम्झनामा आफन्तद्वारा माइतीघर मण्डलामा दिप प्रज्वलन

सबै बेपत्ताको स्थिति सार्बजनिक गर्न माग

 

काठमाडौ, २९ असार । जनयुद्धकालमा राज्य पक्षबाट बेपत्ता पारिएका स्याङ्जा गल्याङ्–९ मा अवस्थित श्री जानकी माध्यामिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद खनालको स्मृतिमा काठमाडौंमा माईतीघर मण्डलामा दिप प्रज्जवलन तथा स्मृति सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

 

स्थानीय जानकी माध्यमिक बिद्यालयमा नेपाली पढाउने खनाललाई राज्य तर्फबाट परिचालित सुरक्षाफौजले २०५९ असार २९ गते घर बाटै नियन्त्रणमा लिई बेपत्ता पारेको थियो । बेपत्ता पारेको १७ वर्षसम्म पनि खनालका बारेमा राज्य पक्षले कुनै जानकारी नदिएको भन्दै परिवार र आफन्तजनको अग्रसरता कार्यक्रम आयोजना गरिएको हो ।

 

जनयुद्धकालमा बेपत्ता बनाईएका विभिन्न नागरिकको अवस्था राज्यले अहिलेसम्म सार्वजनिक नगरेको भन्दै देशभरका बेपत्ता तथा सहिद परिवारहरु आक्रोशीत भईरहेको अवस्थामा खनाल परिवारले काठमाडौंमा नागरिक समाज,पत्रकार,विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता,कानुनी व्यवसायी लगाएतको उपस्थितिमा दिप प्रज्जवलन तथा बेपत्ता परिवारको अवस्था सार्वजनिक गर्न माग गरेका हो ।

 

कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता एकराज भण्डारी,बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष राम कुमार भण्डारी,बेपत्ता खनालका छोरा केशवराज खनाल लगाएतले बेपत्ताको जनको स्मरण गर्दै उहाँहरुको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका थिए ।

बरिष्ठ अधिवक्ता भण्डारीले सरकार बेपत्ता नागरिक प्रति अनुदार भएको आरोप लगाए । उनले तत्कालिन एमाले तथा अहिलेको सरकारका कारण बेपत्ता नागरिकको पत्ता लगाउनको लागि आयोग गठन हुन नसकेको बताए । साथै उनले सरकार नागरिकलाई सुरक्षा दिनुको सट्टा मुटभेटको नाममा नागरिक हत्यामा उत्रन थालेको आरोप लगाए ।

भण्डारीले सरकारले सबै बेपत्ता परिवारको अबिभाबकत्व ग्रहण गर्नु पर्नेमा सरकार त्यस तर्फ नलागेको समेत दाबी गरे। उनले बेपत्ता नागरिकको आवाजलाई सरकार दबाउन लागि परेको भन्दै त्येस्तो नगर्न सचेत गराए न्याय प्राप्तिको आन्दोलन दबाउन खोजे अर्को युद्ध हुने चेतावनी समेत दिए ।

 

कार्यक्रममा बेपत्ता खनाल लगाएत सबैको स्मृतिमा दिप प्रज्जवलन गरिएको थियोे । कार्यक्रममा बिधार्थी,शिक्षक,कानुनी व्यवसायी,पत्रकार,व्यापारी लगाएतको ठुलो संख्यामा उपस्थिति रहेको थियोे।

 

 

Loading...