बहुमतले वडा केन्द्र तोकेपछि मुगुमा झडप

असार २९ मुगु । बहुमतले वडा केन्द्र तोकेपछि खत्याड गाउँपालिकाको पाँचौ गाउँसभामा झडप भएको छ । निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

झडपमा घाइते भएका खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ वर्षिय गणेश थापालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

घाइते दुबैजनालाई शनिबार खत्याड गाउँपालिका ४ माथिचौरमा रहेको निजी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

निर्णय लगत्तै गाउँपालिकाको सभा चलिरहेकै अवस्थामा असन्तुष्ट पक्षले ढुङ्गामुढा गर्दा दुई पक्षबीच झडप भएको थियो ।

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभालले गाँउपालिकाको ३, ६, ७, ९ र १० वडाको वडा केन्द्र स्थापना गर्ने प्रस्ताव बहुमतबाट पास गरेको थियो ।

घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताए ।

Loading...