जनकपुर पूरै डुबानमा, बाढीले भत्कायो निर्माणाधीन पुल

जनकपुर, २८ असार । अविरल वर्षाका कारण बढेकाे बाढीले धनुषामा निर्माणाधीन एउटा पुल भत्किएको छ। जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो।

विगत ६ वर्षदेखि निर्माण थालिए पनि अहिलेसम्म पूरा नभएकाे पुल शुक्रबार राति भत्किएकाे स्थानीयले बताएका छन् । उक्त पुल रोशन कन्ट्रक्सनले बनाइरहेकाे थियाे । स्थानीयले समयमा काम पूरा नभएकाे र गुणस्तरहीन सामग्री प्रयोग गरिकाले पुल भत्केको बताएका छन् ।

उक्त पुल करिव ६ वर्ष अघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नै शिलान्यास गरेका थिए। पुल भत्किएपछि त्यस क्षेत्रको बाटो अवरुद्धसमेत भएको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर पूरै जलमग्न भएको छ। वर्षाको पानी निकास हुन नसक्दा सडक र घरघरमा तीन फिटसम्म पानी जमेको छ। जनकपुरका प्रायजसो सबै सरकारी कार्यालय डुबानमा परेको छन ।

प्रदेश २ का मुख्यमन्त्रीकाे कार्यालय, जनकपुर विमानस्थल, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय समाचार समितिलगायतका कार्यालय डुबानमा परेको छ।

जनकपुर डुबानमा परेपछि मानिसलाई घरभित्रै बस्न र बाहिर निस्किन समेत समस्या भएको छ। नगरमा पानी जलमग्न भएपछि पठनपाठनसमेत ठप्प भएको छ। वर्षा र डुबानको कारण सर्वसाधारण कष्टकर जीवन जिउन बाध्य भएका छन्।

Loading...