अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ

पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज परिसरबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे कालीगण्डकी गाउँपालिका मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे हो ।

नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जानकारी दिएको छ । बच्चा चाेरी गर्ने महिला ४ दिनदेखि सुत्केरी वार्डमा बसिरहेकी थिईन उनले शु्क्रबार जमुनाकी आमालाइ सहयाेग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

त्यसयता सुत्केरी जमुना अचेतजस्तै छिन । लामाे समयदेखि अस्पतालभित्र ती महिलालाइ बस्न दिनु शंकास्पद रहेकाे बच्चाका आफन्तकाे भनाइ छ ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खाेजी गरेकाे थियाे । नवजात शिशु चाेरीमा संलग्न महिला ४५ वर्षकी विमकला पाण्डे हेकाे प्रहरीले पत्ता लगाएकाे छ । 

उनीमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटासहितकाे टाेली समेत महिला र बच्चा भेटिएकाे स्थलमा पुगेकाे छ । उनले किन बच्चा चोरी गरिन भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

महिलाले चाेरेर लगेकाे बच्चाकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

कसरी भयाे बच्चा चाेरी ?

सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेकीले उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् ।

उनीसँगै एकजना अपरिचित महिला पनि सँगै गइन् । सँगै गएकी ती अपरिचित महिलाले सघाउन भन्दै शिशु समातेको र आफूले ज्वानोको झोल लिएर छोरी समक्ष पुग्दा ती महिला नआएको सुत्केरी जमुनाकी आमाले बताइन् ।

लामो समय सम्म पनि शिशु लिएर नआएपछि खोजी गरिएको सुत्केरीकी आमाले बताईन् । सुत्केरी जमुना, श्रीमान र आमा सीधा स्वाभावका कारण चार दिनदेखि बच्चाको खोजीमा अस्पताल आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाईदा उठाउदै बच्चा चोरेकी थिईन् ।

अस्पतालको नजिकै रहेको प्रहरी चौकी अगाडिबाट पोखराको बसमा उनी स्याङ्जाको जीरोका लागि ३ः३० बजे त्यहाँबाट हिडेको स्रोतले जनाएको छ ।

विमकला ५ः३० बजे राम्दी हुँदै गल्याङ्गको जीरोमा पुगेकाे र जीरोमा उनले जीप चढेर राती ७ः१५ बजे र्मिमीको एनईइको (विद्युत् प्राधिकरण) क्याम्पमा रहेको कर्मचारी क्वाटरमा पुगेकाे बताइएकाे छ । 

बच्चा चोर्ने महिला को हुन ?

स्याङ्जा गल्याङ्ग नगरपालिका ५ डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षकी विमकला पाण्डे एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारीका रुपमा कार्यरत थिइन् ।

उनी त्यही क्वाटरमा बस्दै आएकी थिईन् । उनले एक वर्ष अघि दाङका एक युवकसँग (दोस्रो) प्रेम विवाह गरिन् ।

तर ती युवक अहिले विदेशमा छन् । विमकलाका पहिलो पतिको केही वर्ष अघि मृत्यु भएको थियो । पहिलो श्रीमान् तर्फका दुई छोरीहरु ठूलै भइसकेका छन् । उनले पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क बढेपछि प्रेम विवाह गरेकी थिईन् ।

विमकलाले पुत्र प्राप्तिको आशा र पछिल्लो श्रीमानको सम्पति प्राप्त गर्ने लोभ जागेको हुन सक्ने प्रहरीको अनुमान छ।

त्यसैले गर्दा उनी एक सातादेखि बच्चाको खोजीमा भौतारिईरहेकी थिईन् ।

प्रहरीको अनुमानअनुसार पछिल्ला श्रीमानसँग उनले तपाईको गर्भ मेरो पेटमा छ भनेर आठ महिना अघि फोनबाट खबर गरेको तर उनी गर्भवती नभएका कारण उनले नवजात शिशु चोर्ने जुक्ति निकालेकी थिईन् ।

Loading...