वर्षाका कारण प्रदेशसभा भवन नै डुबानमा ! कोसी अञ्चल अस्पताल जलमग्न


विराटनगर । लगातारको वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन नै डुबानमा परेको छ । वर्षाका कारण जम्मा भएको पानी प्रदेशसभा भवन भित्र पसेर सभाहलमा ताल बनेको हो ।

प्रदेशसभा भवनसँगै विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ भने नालाको पानी अस्पताल परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवन पसेर जलमग्न बनाइदिएको छ ।

लगातारको वर्षा र अस्पतालभित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्षभित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसिटको माध्यमबाट पानी बाहिर फाल्न सुरु गरिएको अस्पतालले जनाएको छ ।

उता, लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा २ सय ५० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी छन् ।

विराटनगर १ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर ८ हाटखोला दक्षिणी क्षेत्रमा १ सय घर, विराटनगर १६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०-५० घर परिवार विस्थापित भएका छन्। विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेलीरकानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन्।

अन्दाजी २५र३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। यस्तै उर्लाबारीमा घाासको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ।

प्रशासन कार्यालयले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको जनाएको छ। प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ।

 

Loading...