लेवोङदेखि सुकुनासम्म करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन

काठमाडाैं । अलग प्रान्त गोर्खाल्याण्डको समर्थन र पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा दार्जिलिङका जनताले करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरेका छन् ।

गोर्खाल्याण्डको ‘इपिसेन्टर’ दार्जिलिङको लेवोङदेखि सिलिगुडी नजिकैको सुकुनासम्म करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरिएको हो । दार्जिलिङदेखि सिलिगुडीसम्म प्रदर्शन गर्ने योजना भएपनि प्रशासनको अवरोधका कारण सुकुनासम्म मात्रै प्रदर्शन गरिएको थियो । स्थानीय प्रशासनले सुकुनादेखि सिलिगुडीसम्मको करिव ८ किलोमिटर क्षेत्रमा कफ्यु लगाएको थियो । यो कार्यक्रमको अगुवाई संयुक्त कलाकार मञ्च दार्जिलिङले गरेको हो ।

दार्जिलिङमा ५५ दिनदेखि हड्ताल जारी छ । गोर्खाल्याण्डको मागप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा ध्यानाकर्षण गर्ने उद्देश्यका साथ मानव साङ्लो प्रदर्शन गरिएको संयुक्त कलाकार मञ्चका जीवनप्रकाश प्रधानले जनाए । मानव साङ्लो कार्यक्रममा हजारौ सर्वसाधारण सहभागी बनेको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ ।

 

Loading...