बाबुरामसँग हारथाक खाइ फर्केकालाई स्वागत गर्दै प्रचण्डले भने ‘बाबुरामको बौद्धिकता हामीबाहिर काम लाग्दैन’

काठमाडौं, २० असार । लामो समय बाबुराम भट्टराईको साथमा लागेर हारथाक खाई फर्केका पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले बाबुरामप्रति तिखो टिप्पणी गरेका छन् ।

शुक्रबार नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले डा. बाबुराम भट्टराईको वौद्धिकताले कम्युनिस्ट पार्टीभन्दा बाहिर काम नगर्ने ठोकुवा गरे ।

प्रचण्डले भट्टराईको वौद्धिकताको महत्व र भूमिका कम्युनिस्ट पार्टीमा मात्र भएको दावी गर्दै बाबुरामलाई आफ्नो पार्टीमा फर्कन आग्रह समेत गरे । सो क्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लवका बारेमा पनि टिप्पणी गर्न भ्याए । उनले विप्लवले लिएको हिंसात्मक बाटो गलत भएको दावी गरे । कम्युनिस्टहरुको बहुमतको सरकार रहेका बेला यसलाई सहयोग गर्नुपर्ने ठाउँमा विप्लवले हिंसात्मक बाटो रोजेर गलत गरेको भन्दै प्रचण्डले त्यो बाटो छोडेर एक ठाउँमा आउन आग्रह समेत गरे ।

एक प्रसंगमा प्रचण्डले आफ्नो पार्टीको एकतालाई सुरु हुँदादेखि नै एकता भाँड्ने तत्व सक्रिय रहेको बताउँदै त्यस्ता तत्वहरुदेखि सतर्क रहन आग्रह गरे ।

डा. भट्टराईको पनि कठोर आक्रोश

यसैबीच समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो साथ छोडेर जानेहरुप्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन् । डा. भट्टराईले ट्वीटरमा एक पोस्ट लेख्दै उक्त आक्रोश पोखेका हुन् ।

डा. भट्टराईले सत्ताको रस चुस्ने होडबाजीले पराजुली र धमलासहितका कार्यकर्ताहरुले आफ्नो साथ छाडेको बताएका छन् । त्यसैगरी उनले भात पाक्न केही ढिलो भयो भन्दैमा अखाद्य वस्तु खाएकोसम्म उनीहरुमाथि आरोप लगाएका छन् । त्यस्ता प्रवृतिलाई आफूले स्वास्थ्यलाभको कामना बाहेक केही गर्न नसकिने टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिमा नैतिकता र इमान्दारिताको ठूलो महत्व हुन्छ, जता काफल पाक्यो उतै चरी नाच्यो’ प्रवृत्तिले तत्काल केही लाभ त होला तर अन्ततः पश्चातापसिवाय केही प्राप्त हुन्न । भात पाक्न केही ढिलो भयो भन्दैमा अखाद्य वस्तु खानेलाई स्वास्थ्यलाभको कामना बाहेक अरू के गर्न सकिन्छ र ?’

डा. भट्टराईले आफ्नो साथ छाडेर जानेले घुक्र्याउने र बार्गेनिङ गर्ने कार्य गरेकोसमेत आरोप लगाएका छन्। उनले भनेका छन, ‘समाजवादी पार्टीबाट नेकपा पस्न लागेका केहीले यता घुक्र्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलग–अलग बार्गेनिङ गरेर राम्रै लाभ लिन लागेछन् भलो होस् ।’

तत्कालिन एनेकपा माओवादीवाट छुट्टिई नयाँ शक्तिमा लागेकामध्ये धेरैजसो सत्तारुढ नेकपामा प्रवेश गरिसकेका छन् । देवेन्द्र पौडेल, बलावती शर्मा, मुमाराम खनाल, रामेश्वर खनाल, करिश्मा मानन्धरलगायतले यसअघि नै पार्टी परित्याग गरिसकेका छन् भने अब भट्टराईसँग हिसिला यमी, नवराज सुवेदी, गंगानारायण श्रेष्ठ, रामरिझन यादवलगायत आधा दर्जनमात्रै उच्च तहका नेता बाँकी छन्।

Loading...