काठमाडौं : नेपाली चेली कञ्चन अमात्यले ‘प्रिन्सेस डायना अवार्ड’ पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्।
१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ।
डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो। २० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ। डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। पाटनकी कञ्चन अहिले अमेरिकामा अध्ययनरत छन्। उनी राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय छन्।
उनले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाएकी थिइन्। उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाटसमेत जिम्मेवार पाएकी थिइन्। काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर उनी नर्वे हुँदै अमेरिका पुगेकी हुन्।