काठमाडाैं । महिलाका सम्बन्धमा दिएकाे एक टिप्पणीका कारण सर्वत्र अालाेचना भएपछि तिब्बती धर्म गुरु दलाई लामाले अन्तत: माफी मागेका छन् ।
धर्म गुरु लामाले महिला उत्तराधिकारीको सम्भावना सम्बन्धमा गरेको टिप्पणी विवादित बनेको थियो । गएको जुनमा बिबिसीसँगको कुराकानीमा दलाई लामाले आफ्नो उत्तराधिकारी बन्नका लागि महिलामा हुनुपर्ने विशेषता ‘सुन्दरता’ रहेको बताएका थिए ।
आकर्षक महिला मात्रै आफ्नो सम्भावित उत्तराधिकारी बन्न सक्ने उनले बताएका थिए । त्यसको सर्वत्र विरोध भएपछि धर्म गुरु लामाले माफी मागेका हुन् । उनको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा धर्म गुरु दलाई लामाले आफूले प्रयोग गरेको शब्द प्रति माफी मागेको उल्लेख गरिएको छ ।
तर सो शब्दको प्रयोग हाँस्यका लागि मात्रै गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आफूले प्रयोग गरेको शब्दबाट मानिसमा पर्न गएको असर प्रति उहाँ निकै दुःखी हुनुहुन्छ र माफी माग्नु चाहनु भएको छ ।’
यो हप्ता ८४ वर्ष लागेका दलाई लामाले सो अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, तिब्बत फर्किने आफ्नो सपना र शरणार्थीसहितका विषयमा बोलेका थिए ।
तर भावी दलाई लामा महिला हुन सक्ने सम्भावना सम्बन्धी कुरा गर्दा उनले भनेका थिए, ‘यदि कोही महिला दलाई लामा हुन्छन् भने उनी अति आकर्षक हुनुपर्छ ।’ उनी यति भनेर हाँसेका थिए ।