‘धेरै पढ्ने मान्छेहरु बहुलाउँछन् ।’ ‘मार्क्स एङगेल्सका थोत्रा किताब पढेर क्रान्ति हुन्न।’ ‘बुद्धिजीवीहरुलाई थला पारिन्छ।’ अहिलेका सत्ता राजनीतिका दुई खेलाडी प्रचण्ड र केपी ओलीका चर्चित अभिव्यक्तिहरु हुन् यी । दुबै पात्र अहिलेका सत्ताका सबैभन्दा बलशाली पात्रहरु पनि हुन् । सत्ताका कारिन्दाहरुले निर्माण गर्ने भाषाले समाजमा उसले लाद्न खोजेको अर्थराजनीतिक र साँस्कृतिक भय प्रस्टिन्छ ।
आम लेखक र बौद्धिकहरु माथि प्रचण्डले गरेको टिप्पणी आफ्नो दाइने यात्रा विरुद्ध प्रश्न गर्ने लेखक बुद्धिजीवी र राजनीति माथि थियो । आफ्नो पथभ्रस्ट यात्रा विरुद्ध धावा बोल्ने मान्छे माथि होइन, बिचाराधारा माथि थियो।
मार्क्स एङ्गेल्सका कृति माथि ओली टिप्पणीको कारण ती कृतिहरु अध्यारोको विरुद्ध उज्यालो बाटो देखाउने दर्शन थियो । भर्खरै पुँजीवादी समाजमा बदलिएको नेपाली सत्ता राजनीतिका खेलाडी ओलीलाई थाहा छ कि पुँजीवाद विरुद्ध लड्ने बौद्धिक र दार्शनिक हतियार मार्क्सवाद भन्दा अरु छैन । ओलीको अनुदार दक्षिणपन्थ विरुद्ध कसैले धावा बोल्छ भने त्यो मार्क्सवादले मात्र हो । त्यसैले ओलीको घृणा स्वभाविक हुन आउँछ । ओली अहिलेको फासिवादी सत्ताका भरपर्दा कारिन्दा हुन् । देखाउन त नायकको रूपमा देखाइन्छ । असलियतमा उनीहरु आजको भुमन्डलिकृत बित्तीय पुँजीको कारिन्दा हुन ।
ओलीका केही किस्सा हेर्दा उनी कस्ता मानसिकताका मानिस हुन् भन्ने प्रष्ट हुन्छ । २०४२ सालमा राजद्रोहको मुद्दामा भद्रगोल जेलमा बन्दी बनाइएका ओम शर्मा भर्खरै टिन एजकै थिए अर्थात त्यतिखेर नौ कक्षामा पढ्थे । भद्रगोल जेलमा त्यतिबेला बिहान हिंड्दा ओलीसँग ठोक्किएको निहुमा उनलाई डबल नेकपा निकट पत्रकार संगठनको अध्यक्ष बनाउन ओली राजी भएनन् भन्ने सुन्दा ओलीको स्तर मापन हुन्छ । अनि उनको फासिबादी मानसिकता कति जब्बर देखिन्छ ? त्यो पनि अनुमान लगाउन सकिन्छ । एमाले बिभाजनपछि बनेको माले निकट मिडियाको लेखाइप्रति अहिलेसम्म ओली कति अनुदार छन् । यसबारे भुक्तभोगीहरुका धारणा बेला बेलामा बाहिर आउने गरेका छन् । त्यसमध्ये जनआस्थाका सम्पादक किशोर श्रेष्ठको भोगाइ बेलाबखत मिडियामा धेरै पढ्न पाइन्छ ।
नेपालमा मात्र होइन, दुनियाँभरको इतिहास हेर्दा आम मान्छेले सत्ताको चरित्र बुझ्न सकेको हुँदैन । खाना लाउनको निम्ति संघर्ष गरिरहनु पर्ने आम मानिसले सत्ताको चरीत्रमाथि प्रश्न गर्न सक्दैन । त्यसैले सत्ताको चरित्रमा प्रश्न गर्ने बौद्धिक लेखकहरु र साहित्यकारहरुमाथि सत्ता सदैव कठोर हुने गर्छ ।
भारतमा आरएसएस संरक्षित हिन्दु फासिवाद र त्यसका नायक बनाइएका भाजपा नेता प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा चलिरहेको हिन्दु रास्ट्रबादी फासिवाद विरुद्ध प्रश्न गर्ने बौद्धिकहरु अर्वान माओवादी गुरिल्ला बनाइएका छन् । अर्थात उनीहरु सहरी नक्सलीमा दर्ज गरिएका छन् । र, उनीहरुले प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाउने गरेको भन्ने भयानक प्रोपोगन्डा सृजना गरेर मोदीपन्थहरुले उनीहरुलाई गिरफ्तार गर्ने गराउने गरेका छन । गिरफ्तार गरिएका ती लेखक साहित्यकारहरुमाथि चरम यातना दिने गरिएको छ । यस श्रृङ्खलामा पत्रकार गौरी लङ्केश लगायत दर्जनौ लेखक पत्रकार निर्मम ढंगले मारिएका छन् ।
अरुन्धती रोय जस्ता भारतीय लेखकहरु, जो बहुराष्ट्रिय कम्पनीको लूट विरुद्ध भारतीय आदिवासीहरुको पक्षमा लेख्छन्, उनीहरु दैनिक भय र त्रासमा बाँच्न विवश छन् । गरिब भारतीय आदिवासी, दलित र अल्पसंख्यक समुदायको पक्षमा लेख्नु वा बोल्नु मोदी नेतृत्वको भारतमा गम्भीर अपराध मानिन्छ।
भारत आफैंमा दुईमा बिभाजित छ । बहुराष्ट्रिय कम्पनी र त्यसका दलाली गरिरहेका दलाल–मालिक र हिन्दू फासिवादको आवरणमा लुटिरहेका कथित व्यापारिक घराना बनेको बाबाहरुको भारत अर्कोतिर बहुसंख्यक गरिब आदिवासी, २० करोड दलित, अल्पसंख्यक समुदायको भारत । जसले बहुराष्ट्रिय कम्पनीका मालिक र तिनका हिन्दु फासिवाद विरुद्ध आवाज उठाउँछन्, उनीहरुलाई शत्रुको कित्तामा राख्छन् र बर्बर हमलाको शिकार बनाइन्छन् । यो हाम्रो छिमेकको पुँजीवादले अहिले अख्तियार गरेको अर्थराजनीति र सँस्कृति हो।
रुसी अक्टोबर क्रान्तिका निम्ति मेक्सिम गोर्कीको साहित्य, चिनियाँ क्रान्तिमा लु सून, याङ्मो मात्र होइनन, पुँजीवादको विरुद्ध धावा बोल्न सर्बहारा वर्गीय दार्शनिक मार्क्स एङ्गेल्स स्वयमले लेखन र पत्रकारितालाई पहिलो प्लेटफर्म बनाएको कुरा दुनियाँका सबै शासकहरुले बुझेका छन् । लेनिन माओ मात्र होइन, बुर्जुवा भनिएका नेहरु, बिपि कोइराला स्वयं साहित्य र लेखनको आफ्नो बिधामा अब्बल मानिन्थे । र, उनीहरुले आफ्नो समयको अर्थराजनीति र मुलुकको स्वाधीनतामाथि भइरहेको बलात्कार विरुद्ध प्रश्न गरे ।
नेपालमा राणा शासनकालमा मकैको खेतीका लेखक कृष्णलाल अधिकारी, पन्चायत विरुद्ध रामेश–रायन, कृष्ण सेन इच्छुक, नारायण ढकाल, आहुती, श्यामल, खगेन्द्र सङ्गौला, पारिजात लगायतका लेखक साहित्यकारहरु सत्ता माथि प्रश्न गर्ने नायकहरु थिए। जसका कारण उनीहरु तत्कालीन ‘माटो सुहाउँदो’ व्यवस्थाको (पन्चायतको) शत्रु दरिए। यिनले थुप्रै आरोप खेपे । जेल भोगे । यातना शिबिरमा बिताए । र, आफ्नो उर्जावान समय सत्ताबाट दबेटिएका मानिसहरुको पक्षमा साहित्यको बमवार्ड गरिरहे ।
पहिलो जनआन्दोलनको आधारभूमी निर्माण गर्न यी लेखक कलाकारको कम योगदान छैन।जनआन्दोलन पछि यसले निर्माण गरेको सत्ता संरचना बिरुद्ध प्रश्न गरे । प्रचण्ड, बाबुराम, किरणहरु आफैंमा प्रश्न गर्ने बौद्धिकहरु थिए । त्यसमा थुप्रै कवि, लेखक, कलाकार र बौद्धिक जमात समेत थिए । जनयुद्ध प्रारम्भ भएपछि हाम्रा झोलामा आमा, युवाहरुको गीत मात्र होइन, आहुतिको नयाँ घर उपन्यास अनिवार्य जस्तै थियो।
यो क्रममा माओवादी आन्दोलन देशको सबैभन्दा मूल्यवान र बालशाली बन्यो– देशका उत्पीडित जनताको पक्षमा ।हिमाल, पहाड, मधेस, दलित, जनजाति, महिला, किसान, मजदुर, गरिब देशभक्त सबैलाई यसले उद्देलित र र प्रभावित बनायो ।
कृष्ण सेन इच्छुक, रोहित कोइराला, चुनु गुरुङ, च्याङ्बा लामाहरुले साहित्य र संस्कृतिको मोर्चाबाट बलिदान गरे । अझ इच्छुकको दर्दनाक हत्या माओवादी आन्दोलनकै एक अपुरणीय बौद्धिक हत्याकाण्ड हो । यो बीचमा थुप्रै लेखक कलाकार र श्रस्टाहरुले परिवर्तनका खातिर आफ्ना सृजना मार्फत योगदान गरिरहे ।
माओवादी आन्दोलनको विचलन विरुद्ध कमरेड विप्लवको विद्रोह यो कालखण्डको र यो पुस्ताको सबैभन्दा ठुलो चुनौती बनेको छ– सत्ताधारी वर्गको लागि । त्यसैले यो विद्रोहको पक्षमा लेखकीय मोर्चा सम्हालेका लेखक कविहरु सहरी नक्सालाइटहरु हुन्– सत्ताको नजरमा । जसरी भारतीय लेखकहरु भारतीय सहरी नक्सलाइट बनेका छन् । जनताको पक्षमा लागेर सत्ताको भ्रष्ट, गैर जिम्मेवार र दमनकारी चरित्रको विरोध गरिरहेका नेपालका लेखक साहित्यकारहरु नेपालका दलाल पुँजीपति वर्गका निम्ति सहरिया नक्सली हुन् ।
त्यसैले अहिलेको सत्ताले बार बार आक्रमण गरिरहन्छ कवि, लेखक, पत्रकार, साहित्यकारहरुलाई । जसले जहाँ सुकैबाट भए पनि अहिलेको फासिवाद विरुद्ध मिसाइल प्रहार गरिरहेका हुन्छन शब्दको । तर ती शब्द र अक्षरहरु ती मृत अक्षर मात्र होइनन– मिसाइल हुन् फासिवाद विरुद्ध ।
अहिलेको दक्षिणपन्थी फासिवाद (म यसलाई दक्षिणपन्थी सामाजिक फासिवाद भन्न रुचाउँछु नेपालको सन्दर्भमा) यसले ती लेखक साहित्यकारहरुको बोली र लेखक कलालाई पचाउन सक्दैन । फासिवाद माथिको बौद्धिक हमला विरुद्ध राज्य आतङ्कको साहारा लिन पुग्छ । त्यसैले ओलीले फर्मान जारी गरेका छन् । विरोधीहरु माथि अरिङ्गाल झैँ आक्रमण गर्नु, जाइलाग।यो फासिवादी अभिव्यक्ति हो ।
त्यसैले यो हमला चल्नु स्वभाविक छ भने प्रतिरोध ऐतिहासिक आवश्यकता । यो पङ्तिकार अपिल गर्न चाहन्छ कि आउनुस मित्रहरु, नविन युगको सपना बाँडौँ । भुमण्डलीकृत पुँजीवाद र त्यसले निर्माण गरेको फासिवादी विचारधारा र सत्ता सँस्कृतिको विरुद्ध मोर्चा कसौं । मानव जाति र पृथ्वीकै सर्बनास गर्ने बाटोमा दौडिरहेको पुँजीवाद विरुद्ध लडौँ।बैज्ञानिक समाजवाद र सामुहिकीकरण विना पुँजीवादलाई परास्त गर्न सकिदैन र परास्त हुँदैन । आम बौद्धिक जगत, लेखक साहित्यकार र कलाकारहरु युगिन अभिभारा पूरा गरौँ । अहिलेको कुरुप संसारभन्दा सुन्दर संसार सम्भव छ।
१३ असार नुवाकोट